काठमाडौँ / राष्ट्रपति पदमा खसआर्य समुदायबाट रामचन्द्र पौडेल निर्वाचित भएपछि निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषभन्दा फरक लिंग र खसआर्यभन्दा फरक समुदायको मात्र उम्मेदवारी दर्ता गर्नै निर्णय गरेको छ ।
शुक्रबार आयोगका प्रवक्ता शालिग्राम पौडेलद्धरा जारी विज्ञप्ति अनुसार उपराष्ट्रपति चयनको मिति नजिकिँदै गएकाले पुरुष र खसआर्य भन्दा फरक समुदाय र लिंगका व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने निर्णय गरेको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ’ व्यवस्था रहेको छ ।
आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ, २०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस(आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिंग (महिला वा अन्य, वा फरक समुदाय दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ ।