काठमाडौँ / भारतपरस्त माओवादी नेताको आरोप खेप्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको गृहकार्य सुरु गरेका छन् । चैत ६ गते विश्वासको मत लिने तयारी गरेका प्रचण्ड प्रधानमन्त्रीका रूपमा तेस्रो पटक भारत भ्रमणमा जान लागेका हुन् । हेनान प्रान्तमा चैत १४ देखि १७ सम्म हुने चीनमा आयोजना हुन लागेको ‘बोआओ फोरम फर एसिया’ मा प्रधानमन्त्री दाहाल सहभागी नहुने बताइएको छ । चिनियाँ राजदूत छन सोङले फागुन १० मै भेटेर दाहाललाई कार्यक्रममा सहभागी हुने निमन्त्रणा दिएका थिए ।
पहिलोपल्ट प्रधानमन्त्री हुँदा दाहाल चीनको भ्रमणमा गएका थिए । बहाना थियो— चीनमा आयोजित ओलम्पिकमा सहभागी हुने । यस घटनाले भारत रुष्ट भएपछि प्रचण्डले पहिलो आफ्नो औपचारिक भ्रमण भारतबाटै सुरु हुने बताएका थिए तर उनी भारत भ्रमणमा गएका थिए । प्रधानमन्त्री नजाने भएपछि बोआओ फोरममा सहभागी हुन चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ बेइजिङबाटै हेनान जाने परराष्ट्र स्रोतले जनाएको छ । बोआओ नगए पनि भारतको औपचारिक भ्रमणलगत्तै दाहालले चीनको मैत्रीपूर्ण भ्रमण गर्ने गृहकार्य भने गरिरहेका छन् ।
दाहालले प्रधानमन्त्री भएलगत्तै गत पुस १२ मा एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए । उनलाई प्रधानमन्त्री भएलगत्तै भारतबाट अनौपचारिक रूपमा भ्रमणको निम्तो आए पनि हालसम्म लिखित निमन्त्रणा नआएको परराष्ट्र स्रोतले बताएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०१४ को नेपाल भ्रमणका क्रममा भएको सम्झौताको ३१ औं बुँदामा भनिएको थियो, ‘नेपाली पक्षले जनकपुर, भैरहवा र नेपालगन्जमा तीन वटा थप हवाई प्रवेश बिन्दु र क्षेत्रीय विमानस्थलहरू पोखरा–भैरहवा र लखनउबीचको सिधा उडान सुविधाका लागि सीमापार सिधा रुटहरू खोल्न भारतलाई अनुरोध गरेको छ । यसले हवाई यात्रुको समय र लागत बचत गर्नेछ । दुवै प्रधानमन्त्रीले सम्बन्धित निकायलाई ६ महिनाभित्र बैठक गरी यो र हवाई सेवा सम्झौतासँग सम्बन्धित समस्या समाधान गर्न निर्देशन दिएका छन् ।’
सम्झौता कार्यान्वयन हुन नसक्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न नेपाल पस्ने जहाजले अतिरिक्त २२ मिनेट उड्नुपर्छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत १८–२० मा भएको भारत भ्रमण दौरान भएको द्विपक्षीय छलफलमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीसँग हवाई रुटका बारेमा कुरा उठाएका थिए । त्यसलगत्तै जेठ २ मा बुद्ध जयन्तीको दिन भारतीय प्रधानमन्त्री मोदीले गरेको लुम्बिनी भ्रमणमा पनि देउवाले द्विपक्षीय छलफलमा हवाई रुटको विषय निकालेका थिए । त्यस बेला परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘प्रधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट हवाई प्रवेश मार्गका लागि अनुरोध गरे ।’
सन् २००१ मा बोआओ फोरमको पहिलो संस्करणमा तत्कालीन राजा वीरेन्द्रले चिनियाँ राष्ट्रपतिको निम्तो पाएका थिए । सन् २०१५ मा तत्कालीन राष्ट्रपति रामवरण यादव सहभागी भए भने सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गएका थिए । सन् २०१७ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा दाहालले सहभागी जनाएका थिए । तर, सन् २०१८ को बोआओ फोरमको निम्तो पाए पनि उत्तर–दक्षिणको निम्तो एकैसाथ जुधेपछि तत्कालीन प्रधानमन्त्री ओली भारत भ्रमणमा गएका थिए । त्यसपछि बोआओ फोरममा चीनबाट माथिल्लो स्तरमा यस पटक निम्तो आएको थियो । तर, प्रधानमन्त्री दाहालले सहभागिता नजनाउने भएका छन् ।
चीनले बोआओ फोरम फर एसियाको सन् २००१ मा स्थापना गरेको हो । चीनले सन् १९९८ को आर्थिक संकटपछि एसियाली मुलुकहरूबीचमा एकीकृत आर्थिक शैली अपनाउने भन्दै उक्त फोरमलाई अघि सारेको हो । पहिलो फोरममा नेपालसहित विभिन्न २६ मुलुकका नेताहरूले सहभागिता जनाएका थिए ।