काठमाडौँ /सोमबारको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शतप्रतिशत सांसदहरुले आफूलाई विश्वासको मत दिने आशा रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सोमबार सबै सांसदहरुको विश्वासको मत दिने विश्वास राखेको बताएका हुन् ।
यस अगाडी ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको बताउँदै प्रधानमन्त्री दाहालले सोमबार यो शत प्रतिशत हुने आशा व्यक्त गरे । उनले भने,आशाको कुरा गर्दा पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा गरेको छु ।
प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।