काठमाडौँ / नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको विश्वास गुमाइसकेको बताएका छन् । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव वैद्यले यस्तो अभिव्यक्ति दिएका हुन् ।
कार्यक्रममा बोल्दै महासचिव बैद्यले राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री दाहाललाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको बताए ।
उनले भने ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने जुन काम भयो यसले दाहाललाई विश्वास गर्ने ठाउँ छैन ।
ओलीले संविधान खत्तम पारे भनेर यसको रक्षा गर्न कांग्रेससँग सहकार्य गर्न पुगेका दाहालले जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाए । यो भन्दा विचित्र के हुन्छ ? उनले भने, त्यो सरकार त टिकाउनुपर्ने हो नि एमालेसँग बसेर । टिकाउन नसकेर फेरि कांग्रेसतिर लागे । राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो ।
नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिँदै महासचिव वैद्यले वर्तमान राज्यसत्ता संचालनका लागि कांग्रेस असफल भइसकेको र कम्युनिष्ट नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको बताए ।