काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएर विवादित बनेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट हटाएको छ ।
बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उनलाई कारबाही गर्दै सांसदसहित पार्टीको साधरण सदस्यबाट हटाउने निर्णय गरेको हो।पार्टी सभापति रवि लामिछानेले अनुसार अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेको भन्दै कारबाही गरेको बताए । समानुपातिक सांसद श्रेष्ठको पद पनि खारेज हुने भएकाले पार्टीले नयाँ सांसदमा बिन्दाबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष लामिछानेले जानकारी दिए ।
चैत्र २६ गते श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई दिनका लागि पैसा चाहिने भन्दै प्रसाईंसँग पैसा मागेको अडिओ सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । रास्वपाले श्रेष्ठसँग २४ घन्टे स्पष्टीकरण सोधेको थियो भने छानबिन गर्न समिति बनाएको थियो।
श्रेष्ठको ठाउँमा रास्वपाले अब समानुपातिक सूचीमा रहेका महिलालाई सांसद बनाउने निर्णय गरेको बताइएको छ ।