काठमाडौं / आगामी वैशाख १० गते प्रतिनिधिसभाको तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । तनहुँ—१, चितवन—२ र बारा—२ मा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि मतपत्र छपाइको काम समेत सकेको जनाएको छ । मधेस प्रदेशको क्षेत्र नं. २, वाग्मती प्रदेशको चितवन क्षेत्र नं. २ र गण्डकी प्रदेशको क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि कुल ३ लाख ९० हजार थान मतपत्र छापिएको हो । ती मतपत्र आवश्यक सुरक्षा प्रबन्धसहित सम्बन्धित निर्वाचन क्षेत्रका लागि ढुवानी सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार बारा २ मा १ लाख ५ हजार २ सय ४८, चितवन २ मा १ लाख २४ हजार ६ सय ९५ र तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता कायम भएका छन् । उपनिर्वाचनका लागि कुल ६७ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । आयोगको प्रणालीमा प्रबिष्ट भएको विवरणअनुसार बारा क्षेत्र नं.२ मा ३४, तनहुँ क्षेत्र नं. १ मा ९ र चितवन क्षेत्र नं. २ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइरहेको उपनिर्वाचनमा मुख्य गरी कांग्रेस, एमाले र जसपालाई अस्तित्व जोगाउने चुनौती छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ १ मा उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रमा कांग्रेस, एमाले र रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसले नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई प्रतिस्पर्धामा उतारेको छ । एमालेले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पुनः उम्मेदवार बनाएको छ । खनाल मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यको एमाले एमाले उम्मेदवार बनेका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले पराजित गरेका थिए । सर्वेन्द्र खनालको पुख्र्यौली थलो तनुहँ नै भएकाले एमालेले उनलाई दोहो¥याएर उम्मेदवर बनाएको हो । दुई साता अघि मात्र कांग्रेस पार्टी त्यागेका डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर उम्मेदवार बनेका हुन् । देउवा—भारजु गुटले वाग्लेलाई टिकट नदिने बुझेपछि उनले कांग्रेससँग नै पारपाचुके गरेका हुन् ।
मंसिर ४ को निर्वाचनमा वाग्लेले चितवनबाट उम्मेदवार बन्ने प्रयास गरेका थिए । तर देउवा—आरजु गुटले उनलाई उम्मेदवार बनाउन चाहेन । विस्तारै वाग्लेमा कांग्रेसप्रति नै वितृष्णा बढ्दै गयो । कांग्रेसमा आफ्नो भविष्य नदेखेपछि वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी उनको रोजाइमा परेको हो । वाग्ले अर्थविद्का रुपमा परिचित छन् । वाग्लेको उम्मेदवारीले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई छायामा पार्दै लगेको छ । तनहुँका पुराना कांग्रेस नेता गोविन्दराज जोशी समेत वर्तमान कांग्रेस नेतृत्वसँग असन्तुष्ट रहेकाले उनको समूहले वाग्लेलाई सघाउने देखिन्छ । तनहुँ १ के भन्छ— स्वर्णिमलाई ल्याउ भन्छ, अर्थतन्त्र के भन्छ— स्वर्णिमलाई ल्याउ भन्छ— नाराले वाग्लेको उम्मेदवारी कांग्रेस र एमाले उम्मेदवारका लागि निकै भारी परेको स्थानीयबासीहरु बताउँछन् । वाग्लेको पक्षमा कलाकारहरुले गीतहरुबाट समेत माहौल बनाइरहेका छन् भने विदेशमा श्रम गर्ने युवाहरुले आफन्तहरुलाई घन्टीमा मतदान गर्न आग्रह गरिरहेका छन् । वाग्ले यसअघि राष्ट्रिय योजना आयोगको सदस्य र पछि उपाध्यक्ष समेत रहेका थिए ।
गत असार महिनामा गठित राष्ट्रिय स्वतन्त्र पार्टीले गत मंसिर ४ को निर्वाचनमा उल्लेख्य सिट जितेर राष्ट्रिय राजनीतिमा हलचल पैदा गराइसकेको छ । यसबीच संसद र सरकारमा समेत सहभागी भएको रास्वपाको जनाधार मापन गर्ने आधारका रुपमा चितवन २ को निर्वाचनलाई हेरिएको छ । रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि चितवन २ रिक्त भएको हो । कांग्रेस र एमालेले यसअघि लामिछानेसँग प्रतिस्पर्धा गरेका उम्मेदवारलाई टिकट नदिएर नयाँ अनुहारलाई अघि सारेका छन् । कांग्रेसले पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवर बनाएका छन् । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । माओवादी केन्द्रले भने तीनवटै क्षेत्रमा उम्मेदवार उठाएको छैन । चितवन २ र तनहुँ १ मा माओवादीले कांग्रेस उम्मेदवारलाई सघाउँदैछ भने बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेको छ । यसअघि चितवन २ मा कांग्रेसबाट व्यापारिक पृष्ठभूमिका उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा थिए ।
चितवन २ मा दोहो¥याएर उम्मेदवार बनेका रास्वपा अध्यक्ष रवि लामिछानेले फेरि बाजी मार्ने लक्षण देखिएको छ । रविको पक्षमा उर्लिएको जनसागरले कांग्रेस र एमालेको सातो हर्दैछ । यही बीचमा रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको २ करोड घूस मागिएको अडियो रेकर्ड सार्वजनिक भयो । श्रेष्ठले प्रसाइँसँग स्वास्थ्यमन्त्री बन्न पार्टीलाई २ करोड बुझाउनुपर्ने भन्दै सहयोग मागेका थिए । पार्टीको कोर ग्रुपलाई पैसा बुझाउनुपर्ने, हाल १ करोड भए हुने अरु पछि बुझाउँदा पनि कोर ग्रुपले मान्ने भन्दै श्रेष्ठले प्रसाईंसँग २ करोड मागेका थिए । यो विषयमा रास्वपाको अनुशासन तथा आचारण समितिले अनुसन्धान गर्दै श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरेको थियो । सभापति रवि लामिछानेले तत्काल एक्सन गर्दै श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरे । कारबाहीसँगै श्रेष्ठको सांसद पद चट भएको छ । श्रेष्ठ समानुपातिकबाट सांसद बनेका थिए । श्रेष्ठको रिक्त स्थानमा आदिवासी जनजाति क्लस्टरको महिला तर्फबाट विन्दवासिनी कंसाकारलाई रास्वपाले सांसद बनाउन निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । उनी एसिड पीडित महिला हुन् । रास्वपाको समानुपातिक सूचीमा महिलातर्फ इन्दिरा राना मगर र सुमना श्रेष्ठपछि कंसाकार थिइन् ।
रास्वपाले समानुपातिकको बन्दसूची पठाउँदा विभिन्न क्लस्टरमा पुरुष र महिला छुट्याएकाले केही अन्योलसमेत देखिएको थियो । ढाकाको स्थानमा मेघबहादुर आले पनि दाबेदार थिए । जनजातितर्फ १७ नम्बरबाट मात्रै महिला सुरु हुन्छन् । यदि निलम्बित सांसद महिला भएको भए र ३३ प्रतिशत नपुग्ने अवस्था भएको भए अर्को महिला सांसद नै लैजानुपथ्र्यो । तर निलम्बित सांसद ढाका पुरुष भएकाले उनको स्थानमा महिला लैजानुपर्ने बाध्यता थिएन । पर्यटन व्यवसायमा संलग्न आले विवादित छविका मानिन्छन् । एउटा विवादित व्यक्तिको ठाउँमा अर्को विवादित व्यक्तिलाई लैजाने मुडमा रवि लामिछाने थिएनन् । साथै महिलालाई पठाउँदा राम्रो सन्देश पनि जाने भएकाले कंसाकारको नाममा निर्णय भएको बताइएको छ ।
आदिवासी जनजाति समूहको १७ नम्बर अर्थात् महिलाको पहिलो नम्बरमा रहेकी इन्दिरा राना मगर, आदिवासी जनजाति समूहको १८ नम्बर अर्थात् महिलाको दोस्रो नम्बरमा रहेकी सुमना श्रेष्ठ यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् । तर राजनीतिक दलसम्बन्धी ऐनमा दुई अवस्थामा मात्र सांसद पद जाने व्यवस्था छ । पार्टीको ह्वीप उल्लंघन गरेका र दल त्याग गरेका सांसदको मात्र सम्बन्धित पार्टीको केन्द्रीय समितिको निर्णय र सिफारिसबाट पद रिक्त हुने व्यवस्था छ । अनुशासनमा कारबाही गर्ने रास्वपाको निर्णयलाई सांसद श्रेष्ठले कानुनी रुपमा अदालतमा चुुनौती दिन सक्नेछन् । सांसद श्रेष्ठले कानुन व्यवसायीसँग सल्लाह गरी अदालत जाने निकटलाई बताएका छन् । उनले पार्टीबाट अन्याय भएको भनी थप रहस्य खोल्ने समेत बताएका छन् । पार्टी सभापति लामिछानेले श्रेष्ठले आरोप लगाउँदै आएको कोर टिमबारे छानबिन गर्न सरकारका सम्बन्धित निकायलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अख्तियारले अडियो रेकर्डबारे छानबिन सुरु गरिसकेको छ । तत्कालीन सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाको ७० करोड घूस मागेको अडियो रेकर्ड सार्वजनिक हुँदा पनि एमालेले उनलाई कुनै कारबाही गरेन । न त अख्तियारले नै दोषी देखायो । बरु फेरि सांसदको टिकट पाए उनले र जितेर आए पनि । उनी अहिले सांसद नै छन् । यस्तो बेथितिलाई रास्वपाले भने निन्तरता दिएन । सांसद श्रेष्ठलाई निलम्बन गरेर पार्टीमा आर्थिक अराजकता आउन नदिने सन्देश प्रवाहित गरेको छ । माओवादीका नेता कृष्णबहादुर महराको पनि चिनियाँसँग आर्थिक डिल गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । माओवादी पार्टीले उनलाई कुनै कारबाही गरेको थिएन । पुराना ठूला दल भ्रष्टाचारीलाई संरक्षण गर्छन् भन्ने यी निमित्त उदाहरण हुन् ।
बारा २ को निर्वाचनलाई समग्र मधेस राजनीतिको शक्ति संघर्षको विषय बनाइएको छ । मधेसको राजनीतिमा प्रमुख नेता को हुने भन्नेमा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका तर्फबाट सिके राउतबीच प्रतिस्पर्धा छ । मंसिर ४ मा सप्तरी २ मा राउतसँग चुनाव हारेका यादवको उम्मेदवारीलाई सत्ता गठबन्धनका मुख्य दलहरुको समर्थन छ । सत्ता गठबन्धनमै रहेका राउतले भने माओवादी नेता शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएका छन् । संसद छिर्नकै लागि यादवले बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएका हुन् । राउतले पनि मंसिर ४ को निर्वाचनमा ३५४ मतले मात्रै हारेका कुशवाहालाई उम्मेदवार बनाएर आफ्नो प्रभुत्व कायम राख्ने रणनीति बनाएका छन् । मधेस मसिहा कहलिएका यादवलाई गत निर्वाचनमा हराएर राउत मधेस राजनीतिमा चर्चाको शिखर बनेका छन् । यादवले चुनाव जिते उनले मालदार मन्त्रालय लिनेछन् र मधेस राजनीतिमा पकड जमाउने छन् भन्ने राउतलाई डर छ । यादवलाई रोक्न सक्ने आफू मधेसको लोकप्रिय नेता बन्न कसैले रोक्न नसक्ने राउतको विश्लेषण देखिन्छ ।
छुट्टै मधेस राज्यको माग गर्दै हिँसात्मक विद्रोह मच्चाएर चर्चामा आएका राउत मूलधारको राजनीतिमा समाबिष्ट भएर यादवलाई गत निर्वाचनमा पछार्न सफल भएका हुन् । गौर नरसंहारमा मुछिएका यादव विगत १६ वर्षदेखि पटक पटक मन्त्री हुने अवसर पाएका भाग्यशाली मधेसी नेता मानिन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासन पार्टीका अध्यक्ष पूर्वप्रहरी अधिकारी रमेश खरेललाई बारा २ बाट उठाएको छ । ‘एकको बदला तीन’ भन्ने नारासहित काठमाडौंमा क्षेत्र नं. १ मा प्रतिस्पर्धा गरेका खरेलले टिठलाग्दो पराजय भोगेका थिए । बढुवामा नपरेपछि डीआईजीबाट राजीनामा दिएर खरेल नयाँ पार्टी खोलेर राजनीतिमा होमिएका हुन् । सुशासन पार्टी नचलेपछि उनले रास्वपाको घन्टी बजाएका हुन् । प्रहरी नेतृत्वमा हुँदा आफ्ना परिवारलाई मात्र फाइदा हुने निर्णय गराएर उनी विवादित बनेका थिए । बारा २ मा रास्वपाको घन्टी बज्ने सम्भावना न्यून रहेको बताइन्छ । मुख्य प्रतिस्र्धा जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष राउतबीचमै रोचक प्रतिस्पर्धा हुने देखिन्छ । यदि यादवले निर्वाचन हारे भने राष्ट्रिय राजनीतिमा उनलाई स्थापित हुन गाह्रो हुने राजनीतिक विश्लेषक बताउँछन् । कुशवाहाले हारे जनमतका अध्यक्ष राउतलाई खासै फरक नपर्ने भनिँदैछ । किनकि राउत पाँच महिनाअघि मात्रै संसदीय राजनीतिमा प्रवेश गरेका हुन् ।