काठमाडौँ/ राजनीतिक दलहरुवीच संसदीय समितिहरुको भागबण्डामा सहमति जुटेको छ । सोमबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सिर्षस्थ नेताहरुवीच भएको छलफल पछि संसदीय समितिहरूमा भागबन्डामा सहमति जुटेको हो ।
प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा गरी १० वटा समिति रहेका छन् ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागि थिए ।
सहमति अनुसार अब प्रमुख प्रतिपक्षी दल एमालेले एउटा विशेष समिति सहित अन्य दुई गरी तीनवटा समितिको नेतृत्व पाउने भएको छ । एमालेले प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये सार्वजनिक लेखा समिति र अर्को कुनै समिति पाउने बताइएको छ ।
संसद्का दुई विशेष समितिमध्ये राज्यको निर्देशक समिति एमालेले पाउनेछ भने संसदीय सुनुवाइ समितिको नेतृत्व कांग्रेसले गर्ने सहमति जुटेको छ । संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले प्राप्त गर्ने, राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व समितिको नेतृत्व नेकपा एमाले गर्ने सहमति जुटेको बताइएको छ ।