तनहुँ / बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको भन्दा झण्डै १५ हजार बढी मत ल्याएका छन् । उनको विजयीको औपचारिक घोषणा भने हुन बाँकी छ ।
रास्वपाका वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याएका छन भने काँग्रेसका भट्टराईले २० हजार १ सय २२ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत् पाएका छन् ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन भएको हो । रास्वपाका वाग्लेले यसअघि निर्वाचित कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले ल्याएको मतभन्दा बढी मत ल्याएर विजयी भएकाका हुन् । पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए ।
उपनिर्वाचनमा टिकट नपाएपछि असन्तुष्ट बनेका वाग्ले गत चैत १६ मा नेपाली कांग्रेसबाट अलग भएको घोषणा गर्दै रास्वपा प्रवेश गरेका थिए।