काठमाडौँ / राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई मनोनित गरिएको विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतले बहस नोट मगाउने आदेश भएको छ ।
सर्वोच्चले गौतम विरुद्ध परेको निवेदनमाथि साढे दुई वर्षपछि सुनुवाइ सकेको हो । बुधबार संवैधानिक इजलासमा सुनुवाइपछि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको इजलासले बहस नोट मगाउने आदेश दिएको हो।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा गौतम बर्दिया क्षेत्र नं १ बाट पराजित भएका थिए । उनललाई मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेकी थिइन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले निर्वाचनमा पराजित व्यक्तिलाई प्रतिनिधि सभाको त्यही कार्यकालमा मनोनयनमार्फत् संघीय संसदमा लैजानु संविधानको मर्म विपरीत हुने भन्दै सर्वोच्चमा निवेदन दिँदै गौतमको मनोनयन बदर गर्न माग गरेका थिए ।