काठमाडौं । नेकपा मालेले नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवस एवं लेनिनको १५४ औं स्मृति दिवस २२ अप्रिलका दिन प्रवचन कार्यक्रमको आयोजना ग¥यो । पार्टी केन्द्रीय कार्यालय रातो पुलमा आयोजित सो प्रवचन कार्यक्रममा माले नेताहरुले नेपाली कम्युनिस्ट आन्दोलन र लेनिनको देन र उनको व्यक्तित्वबारे चर्चा गरे । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको यतिका वर्ष बितिसक्दा पनि नेपाली समाजको रुपान्तरण हुन किन सकेन ? किन कम्युनिस्टहरु गोलबन्द हुन सकेनन् ? नौलो जनवादी क्रान्तिको कार्यभार किन पूरा हुन सकेन ? कम्युनिस्ट आन्दोलन किन सुस्ताउँदै गएको छ ? कम्युनिस्टप्रतिको जनाकर्षण खस्किनुका कारणहरु के के हुन् ? सरकारमा गएर पनि कम्युनिस्टहरुले आर्थिक समृद्धिको खाका कोर्न किन सकेनन् ? नेपाली कम्युनिस्टहरुले लिनुपर्ने आर्थिक मोडल कस्तो हुनुपर्छ ? जस्ता गम्भीर विषयहरुमा विभिन्न माले नेताहरुले आफ्ना धारणाहरु सुनाए । माक्र्सवादलाई व्यवहारमा उतार्ने लेनिनकै मुलुकमा कम्युनिस्ट शासन प्रणाली ढल्नुका कारणहरुबारे पनि वक्ताहरुले आआफ्नो बुझाइ अभिव्यक्त गरे ।
माले महासचिव सीपी मैनाली, स्थायी कमिटी, पोलिटब्युरो एवं केन्द्रीय कमिटीका सदस्यहरु लगायत विभिन्न पेसागत वर्गीय संगठनहरुका पदाधिकारीहरुको उपस्थिति रहेको सो कार्यक्रममा केन्द्रीय सदस्य आरएस तिम्सिनाले स्वागत मन्तव्य राख्दै लेनिनले विश्व कम्युनिस्ट आन्दोलनमा दिएको देनबारे व्याख्या सुनाए । मन्तव्यको अधिकांश समय उनले लेनिनबारे नै चर्चा गरे । पेरिस कम्युनको पतनले निराश मजदुर आन्दोलनलाई लेनिनले रुसमा अक्टोबर क्रान्ति सम्पन्न गरी विश्वस्तरमा हौसला बुलन्द गराए । माक्र्सवादलाई पहिलो पटक रुसी भूमिमा सफल कार्यान्वयनमा ल्याएर लेनिनले माक्र्सप्रति समेत न्याय गरे । माक्र्स स्वयंले म माक्र्सवादी होइन समेत भनेका थिए । लेनिनले तत्कालीन रुसी निरंकुश जारशाही शासनलाई ढालेर रुसमा कम्युनिस्ट शासनको पहिलो सुरुवात गरेका थिए । रुसी क्रान्तिको सफलताले पूर्वी युरोपमा समेत सशक्त प्रभाव पा¥यो । फलस्वरुप थुप्रै युरोपेली देशहरुमा कम्युनिस्ट सत्ता स्थापना भए । लेनिन एक क्रान्तिकारी योद्धा मात्र थिएनन् उनी माक्र्सवादी चिन्तक र विश्व सर्वहारा वर्गका महान शिक्षक समेत हुन् । उनका थुप्रै संकलित रचनाहरु प्रकाशित छन् । ती रचनाहरु हरेक कम्युनिस्टले अध्ययन गर्न जरुरी छ’ तिम्सिनाले भने । उनले लेनिनका संकलित रचनाहरुका विभिन्न भागहरुको छोटकरीमा चर्चा समेत गरे ।
माले स्थायी कमिटी सदस्य सुरेन्द्र ढकालले विश्व अर्थतन्त्रका विभिन्न मोडलबारे सविस्तार चर्चा गर्दैै नेपालले कुनै पनि अर्थतन्त्रका मोडल अपनाउन नसकेकै कारण विश्वकै दरिद्र राष्ट्र बन्न पुगेको बताए । उनले अगाडि भने— ‘माक्र्सवाद प्रतिपादन गर्ने क्रममा माक्र्सले पुँजीवादको गहिरो अध्ययनपछि ठहर गरे कि पुँजीवादी आर्थिक मोडलले हुने खाने र हुँदाखाने वर्गबीचको दूरी झन् बढाउँछ । त्यसलाई कम गर्ने उनले इजम प्रतिपादन गरे, जसलाई उनले दास क्यापिटलमा विषाद वर्णन गरे । त्यसलाई लेनिने रुसमा कार्यान्वयनमा ल्याए । तर त्यो १९९० सम्म आइपुग्दा छलफल असफल प्रमाणित भयो । रुसमा समाजवाद नै ढल्यो । सोभियत संघ विघटन हुन पुग्यो । पूर्वी युरोपका समाजवादी देशहरु पनि धराशायी भए । त्यसले स्टेट इकोनोमी अर्थात् राज्य नियन्त्रित अर्थव्यवस्था सफल हुँदोरहेनछ भन्ने देखायो ।
ढकालले चीन समृद्ध बन्नुमा उसले अपनाएको अर्थतन्त्रको मोडलले काम गरेको हो भन्ने निष्कर्ष दिँदै भने– चीनले समाजवाद पूर्ण रुपमा राज्य नियन्त्रित भएर मात्र चल्दो रहेनछ भन्ने बुझेर निजी क्षेत्रलाई समेत सहभागी गराएर आर्थिक उदारवादी मोडल अपनायो । चिनियाँ उदारवादी अर्थतन्त्र सुधारिएको माक्र्सवादका रुपमा विश्वसामु देखा प¥यो । यसका आर्टिटेक्स देङ स्यायो पिङ थिए । चीनले द्रुततर रुपमा आर्थिक समृद्धि हासिल ग¥यो । प्रतिव्यक्ति आय १५६ डलरबाट अहिले १२ हजार डलर पुगेको छ । ४० खर्ब अमेरिकी डलर चिनियाँ केन्द्रीय बैंकमा सञ्चित छ । चीन अहिले विश्वकै सुपर पावर देश बनेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणले सन २०५० सम्ममा चीन विश्वकै ठूलो अर्थतन्त्र बन्ने देखाएको छ ।
सबै कुरा राज्यको नियन्त्रणमा हुन्छ भन्ने मान्यता उत्तर कोरियाले राखेको छ । अमेरिका लगायत पश्चिमा पुँजीवादी मुलुकहरु र राष्ट्र संघको नाकाबन्दीका बाबजुद उत्तर कोरियाले लामो दूरी मार हान्ने क्षमताका ब्लास्टिक क्षेप्यास्त्र बनाएर अमेरिकालाई तर्साइरहेको छ । सामाजिक अर्थतन्त्रको मोडलले जर्मनले लोभलाग्दो आर्थिक तरक्की गरेको छ । फिनल्यान्ड, नर्वे, स्वीडेन जर्मनजस्ता देशहरुले बहुलवादभित्र सामाजिक बजार अर्थतन्त्रलाई सफलतापूर्वक कार्यान्वयन गरेका छन् । नेपालले कस्तो अर्थतन्त्रको मोडल अपनाउने अमेरिकाको जस्तो पुँजीवादी, चीनको जस्तो सामाजिक उदारवादी, जर्मनको जस्तो सामाजिक बजार अर्थतन्त्र वा उत्तर कोरियाको जस्तो राज्य नियन्त्रित ? हुँदा खाने र हुने खाने वर्गबीचको खाडल नेपालले पुर्न सकेको छैन । नेपालको आर्थिक नियति हाँस र कछुवा गतिमा छ । माक्र्सको नाम बेचेर खाने कम्युनिस्टहरु मात्र छन् । हामी माले उनीहरुभन्दा फरक छौं तर हामीलाई जनताले विश्वास गरेका छैनन् । भियतनाम क्युवाले आर्थिक विकास गर्दा नेपाल भन्ने संसारकै तन्नम राष्ट्रको पहिचानमा छ— ढकालले भने ।
माले महासचिव सीपी मैनालीले नेपाली कम्युनिस्ट आन्दोलनका उतारचढावबारे बोल्दै क्रान्तिका विभिन्न मोडलहरु प्रयोग भए पनि सफल हुन नसकेको बताए । पुष्पलालले नौलो जनवादी क्रान्ति त भने तर सशस्त्र किसान आन्दोलन सफल हुन नसक्ने देखियो । झापा आन्दोलन, माओवादी आन्दोलन असफल भए । चिनियाँ क्रान्तिको यो मोडलले नेपालमा क्रान्ति सफल हुन सकेन । शम्भुराम, तुलसीलाल, कृष्णराज बर्मा, विष्णुबहादुर मानन्धर, मनमोहन अधिकारी जस्ता कम्युनिस्ट अग्रजहरुले नेपाली कम्युनिस्ट आन्दोलनमा आआफ्ना प्रकारका देनहरु दिए । तर कसैले पनि क्रान्तिको नेतृत्व गरेर सफलता प्राप्त गर्न सकेनन् । उनीहरुका विशिष्ट वैचारिक योगदानको स्मरण भने गर्नैैपर्छ । कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुग्दा पनि नेपाली कम्युनिस्ट आन्दोलनले आफ्नो मन्जिल चुम्न नसक्नु दुःखद रहेको बताए ।
स्थायी कमिटी सदस्य कृष्ण रानाको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा स्थायी कमिटी सदस्यहरु निलम केसी, कुमार वेल्वासे र सुरेन्द्र ढकालले मञ्चमा अतिथिको आसन ग्रहण गरेका थिए । माले महासचिव सीपी मैनाली मुख्य अतिथि रहेको प्रवचन कार्यक्रमको सञ्चालन वैकल्पिक पोलिटब्युरो सदस्य सिद्धि महर्जनले गरेका थिए ।