काठमाडौं / संघमा बनेको नयाँ राजनीतिक समिकरणको असर प्रदेशहरुमा पनि देखिन थालेको छ । यसैको परिणाम हो विहिबार गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकारको गठन । गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशमामा डिल्लीबहादुर चौधरी बिहीबार मुख्यमन्त्री नियुक्त भएका छन् ।
दुवैजना कांग्रेस संसदीय दल नेता हुन । संविधानको धारा १६८ (२) अनुसार सत्तासमिकरणका अन्य दलहरुको समर्थनमा उनीहरु मुख्यमन्त्री बनेका हुन् ।
गण्डकी र लुम्बिनीमा सत्ता साझेदार दल कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व लिने सहमतिअनुसार पहिले कांग्रेसलाई मुख्यमन्त्री पाएको बताइएको छ । पाण्डेले मुख्यमन्त्रीका लागि बिहीबार कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र (एकीकृत समाजवादी प्रवेश गरेका) एक गरी ३५ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।
त्यसैगरी लुम्बिनीमा चौधरीले कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपा, लोसपा र जनमतका ३–३ र जनमोर्चा, एकीकृत समाजवादी र स्वतन्त्रका १–१ जनासहित ५३ जनाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।