काठमाडौँ / कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले बेहोर्न आग्रह गरेका छन् ।
१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैंले आफ्नो उपचार खर्च बेहोर्न आग्रह गरेका हुन् ।
महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैं उपचार गर्नुपर्ने अवस्था चरम विभेद भएको भन्दै राष्ट्रपतिलाई उपचार खर्च आफैं बेहोर्छु भनेर सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
महामन्त्री थापाले भने, यो गणतन्त्र हो त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट बेहोर्नुपर्छ । म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त । त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्याउँछ ?
नागरिक र नेताहरूको उपचार फरक फरक हुनुहुँदैन भनेर आफूहरूले कानुनसमेत बनाएको बताउँदै महामन्त्री थापाले भने, नेपालको राष्ट्रध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे भनौँ न अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, जनताले तिरेको करबाट बाहिर लगेर हामीले उपचार गर्ने र उसको उपचार खर्च राज्यकोषले बेहोर्नुपर्ने चलन गलत छ। थापाले अगाडी भने, हाम्रै देशका नागरिकचाहिँ अस्पतालमा उपचार गर्दागर्दै उपचारको पैसा तिर्न नसकेर कोही हाम्फाल्नुपर्ने । कोही अस्पतालमा गए बन्धक बनेर बन्नुपर्ने अवस्था छ, यो गलत हो यस्तो गर्न पाइँदैन ।