काठमाडौं / एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत नेपाली महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको उल्लेख गरेको छ। ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी गएिको अध्ययनले यस्तो तथ्य सार्वजनक गरेको हो । अध्ययनमा छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत दुई सय ८१ महिला पत्रकारको सहभागिता थियो ।
अध्ययनमा सहभागि ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले हिंसा भोगेको पाइएको बताएका छन् । सन् २०२२ मे महिनादेखि ३१ अगस्टसम्म गरिएको यो अध्ययनमा हिंंसा गर्ने व्यक्तिबारे सोधिएका प्रश्नमा दुई सय ८१ जना सहभागीमध्ये एक सय १६ जनाले कार्यालयभित्रका सहकर्मीबाट, ८९ जनाले कार्यालय बाहिरका सहकर्मीबाट, ८९ जनाले परिचित व्यक्तिबाट, ६३ जनाले समाचार स्रोतबाट, ५६ जनाले राजनीतिक दलसम्बद्ध व्यक्तिबाट र २६ जनाले सरकारी अधिकारीबाट अनलाइन हिंसा भएको उल्लेख छ।
सहभागीमध्ये ५३ प्रतिशतले आफूले भोगेको अनलाइन हिंसा पत्रकारिता पेसासँग सम्बन्धित रहेको बताएका थिए भने २१ दशमलव चार प्रतिशतले अनलाइनबाट सुरु भएको हिंसापछि गएर धम्की र भौतिक आक्रमणसम्म पुगेका बताएका छन् । सहभागीमध्ये ११ दशमलव चार प्रतिशतले आफूले नभई अरुले हिंसा भोगेको सुनाएको प्रतिवेदनमा छ । अध्ययनले सबैभन्दा बढी फेसबुक मेसेन्जरबाट हिंसा हुने देखाएको छ।
सहभागीमध्ये फेसबुक म्यासेन्जरबाट ६२ दशमलव तीन प्रतिशत, १५ दशमलव पाँच प्रतिशतले ट्विटर, १२ दशमलव आठ प्रतिशत ह्वाट्सअप, ११ दशमलव सात प्रतिशत भाइवर, छ प्रतिशतले इमेल र चार दशमलव छ प्रतिशतले इन्स्टाग्रामको माध्यमबाट हिंसा भएको देखाएको छ । अनलाइन हिंसामा परेकामध्ये ४० दशमलव दुई प्रतिशत महिला पत्रकारले पेसामा असर परेको र अनलाइन हिंसामा परेकामध्ये ३१ प्रतिशतले पारिवारिक जीवनमा असर परेको बताएको छ ।
अनलाइन हिंसामा परेकामध्ये ६२ दशमलव तीन प्रतिशतले मानसिक स्वास्थ्यमा असर परेको र मानसिक असर परेकामध्ये २६ दशमलव तीन प्रतिशतले मनोसामाजिक परामर्शको सेवा लिनुपरेको अध्ययनमा छ। मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले आज उक्त प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनले गहन विषयको उठान गरेको र कानुन निर्माण प्रक्रियामा मन्त्रालयले गम्भीरतापूर्वक समेट्ने बताए ।