बैतडी/ बैतडीमा घाँटीमा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ ।
प्रहरीका अनुसार मृत फेला पर्नेमा पञ्चेश्वर गाउँपालिका ४ का धनी लुहारकी २१ वर्षीय छोरी माया लुहार रहेकी छन् । उनको शव शिवनाथ गाउँपालिका ६ को शिवनाथ मन्दिर नजिकै टेलिफोन टावरमा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, पञ्चेश्वर ४ कै भरत लुहारकी १५ वर्षीय छोरी नेहा लुहारको घाँटीमा धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । घाइते नेहालाई उपचारका लागि धनगढी लगिएको छ ।
दुवै जना घरबाट लुगा सिलाउन भनेर मंगलबार बिहान १० बजेतिर घरबाट निस्केका थिए । बिहानसम्म पनि उनीहरू घर नफर्किएपछि आफन्त र प्रहरीले खोजी गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।