काठमाडौं/ ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा भएको प्रि क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
ब्राजिलका लागि खेलको ७ औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६ औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४-० ले अग्रता लियो । खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४-१ गोलअन्तरले आफ्नो पक्षमा पार्यो ।
यसअघि आजै राति भएको अर्को खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।