काठमाडौं/ अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को फाइनलमा प्रवेश गरेको छ । लुसेल रंगशालामा क्रोएसियामाथि ३-० को सहज जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ ।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २-० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा गोल थप्दै जित पक्का गरेको थियो ।
पहिलो हाफमा क्रोएसियाले लगातार दबाब बनाए आक्रमण गर्न सकेन । पहिलो गोल पेनाल्टीमा गरेको अर्जेन्टिनाले दोस्रो गोल भने काउन्टर अट्याकमा क्लियर हुन् नसकेको बलमा गोल गर्यो।
दोस्रो हाफमा अर्जेन्टिनाले सुरुवातदेखि बल पोसेसनमा पकड जमाउँदै क्रोएसियालाई खेलमा फर्कन दिएन । खेलको ३४ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई १-० ले अघि बढाए । पेनाल्टी क्षेत्रभित्र जुलियन अल्भारेजलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
खेलको ३९ औं मिनेटमा अल्भारेजले अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा मिडफिल्डदेखि आफैं बल अघि बढाएका उनले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे । क्रोएसियाका दुई डिफेन्डरले बल क्लियर गर्ने अवसर पाएपनि त्यसमा कमजोर क्लिअर गर्दा दुवै पटक अल्भारेजको खुट्टामा बल पुगेको थियो । अन्त्यमा अल्भारेजले वन भर्सेस वनमा सहजै गोल गरे ।
खेलको ६९ औं मिनेटमा अर्जेन्टिनाले ३(० को अग्रता लियो । लिओनेल मेस्सीले दायाँ विंगबाट एकल प्रयासमा डिफेन्डरलाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रआएर दिएको कटब्याकमा अल्भारेजले पहिलो टचमा फिनिस गरे ।
अर्जेन्टिनाले यस जितसँगै फाइनलमा स्थान पक्का गरेको छ । अर्जेन्टिनाले अब बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै छन् ।