अर्जेन्टिना बन्यो विश्वकपविजेता

काठमाडौं/ कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा अर्जेन्टिना बिजय भएको छ । अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि हातपारेको हो । निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगेपछि खेल पेनाल्टीमा गएको हो ।

डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्ध मैदानभित्रको प्रतिस्पर्धामा पनि पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाले कप्तान मेसीको पेनाल्टी र एन्जेल डी मारियाको गोलमा २–० को अग्रता लिएको थियो । फ्रान्सले ६० मिनेटपछि लय समात्यो । केलियन एमबाप्पेले ८० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै फ्रान्सको उपाधि जोगाउने आस कायमै राखे । एक मिनेटभित्रै उनले लोभलाग्दो गोल गरेपछि निर्धारित समय २–२ को बराबरीमै टुंगियो ।

कप्तान मेसीले १०८ औं मिनेटमा अर्जेन्टिनालाई ३–२ ले अघि बढाउँदै फेरि जितनजिक पुर्‍याए । विश्वकप इतिहासमा यो उनको १३ औं गोल हो । उनले यसपालि चार गोल पेनाल्टीमा गरेका हुन् । उनी पोल्यान्डविरुद्धको पेनाल्टीमा भने चुकेका थिए । अतिरिक्त समयमा फ्रान्सले फेरि पेनाल्टी पायो । त्यसमा एमबाप्पेले गोल गर्दै ११८ औं मिनेटमा खेल ३–३ को बराबरीमा पुग्यो ।

टाइब्रकेरमा सुरुमै एमबाप्पे र मेसीको प्रहार सफल रह्यो । तर, किंग्स्ले कोम्यानको प्रहार गोलकिपर एमिलियानोले रोक्दै अर्जेन्टिनालाई विजयउन्मुख बनाए । अउरेलिन चाउमेनीले बल पोस्टबाहिर हाने । पाउलो डिबाला, लियान्द्रो पाराडेसपछि गोन्जालो मोन्टियलले सटीक प्रहार गरेपछि अर्जेन्टिना टाइब्रेकरमा ४–२ को जित रच्दै ३६ वर्षपछि विश्वकप विजेता बन्यो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज