काठमाडौँ / नेपालमा दिनानुदिन बढ्दै गएको क्रिकेट खेलको लोकप्रियतामा तुवाँलो लाग्न थालेको छ । राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गरेको थियो । पारसकै टिमका सदस्य बलर सन्दिप लामिछानेले अन्तर्राष्ट्रिय स्तरको खेलाडीको हैसियत पनि यसै समयमा प्राप्त गरेर विश्वका ठूलाठूला लिग खेल्ने महँगा खेलाडी बन्न पुगेका थिए । यिनै नेपाली सुपरस्टार लामिछाने क्रिकेटको क्याप्टेन बनेपछि भने नेपाली क्रिकेटको ओरालो यात्रा सुरु भयो । कप्तान लामिछाने बालिका बलात्कारको अभियोगमा जेल जीवन बिताइरहेका छन् भने यता कीर्तिपुर मैदानमा सञ्चालन भइरहेको राष्ट्रिय फ्रेन्चाइज लिग म्याच फिक्सिङको विवादमा तानिएको छ । विगतमा नेपाली फुटबलमा भएको म्याच फिक्सिङले केही चर्चित फुटबलरहरूले खेल जीवनबाटै हात धुनु परेको थियो । अहिले उदाउँदो अवस्थामा रहेको क्रिकेटमा म्याच फिक्सिङको रोग सरेको छ ।
नेपाल टी–२० लिगका खेलमा ‘म्याच फिक्सिङ् र स्पट फिक्सिङ्’ जस्तो गम्भीर आरोप लागे पनि नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई भ्रामक र मिथ्या रचनामात्र भएको जनाएको छ । तर पारिश्रमिक नपाएको तथा म्याच फिक्सिङ्, स्पट फिक्सिङ् र बेटिङका कारण नेपाल टी–२० लिग बदनाम बनेको छ ।
यी आरोपका बावजुद नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यान भने आफ्नो बचाउमा उभिएको छ । यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सचिव प्रशान्तविक्रम मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा बुधबार क्यानले भनेको छ, ‘नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पु¥याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्न नेपाल क्रिकेट संघ प्रतिबद्धता जनाउँछ । म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी–२० लिगको एन्टी करप्सन युनिट (एसीयु) मा उजुरी बुझाउन संघ विनम्र अनुरोध गर्दछ ।’
नेपाली टी–२० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमल्सिनाले अघिल्लो दिन सार्वजनिक रूपमा नै ‘स्पट बेटिङ’ भएको दाबी गर्दै आफू कमेन्ट्री टोलीबाट अलग भएको जनाएका थिए । काठमाडौं नाइट्सको नेतृत्व गरिरहेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले समेत आफ्नो टोलीका एक खेलाडीलाई सट्टेबाजले प्रस्ताव गरेको खुलासा गरेका थिए । सचिन र ज्ञानेन्द्र दुवै नेपाल टी–२० लिगका एक हिस्सा हुन् । केही विदेशी टोलीका खेलाडी र नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका अलराउन्डरले टी–२० लिगमा स्पट बेटिङ गरेको जनाउँदै उनले ‘भ्रष्टचारी र सट्टेबाजको हातमा’ यो लिग रहेको भनी शंकामात्र होइन ठोकुवा नै गरेका छन् । आफ्नो टोलीमाथि आपराधिक प्रस्ताव आएपछि ज्ञानेन्द्रले पनि एसीयूमा रिपोर्ट गरिसकेको विषयलाई उजागर गरिसकेका छन् ।
पूर्वकप्तान पारस खड्काले नेपाल टी–२० लिगमा स्पट फिक्सिङ् जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको जनाएका थिए । पारस, सचिन र ज्ञानेन्द्रको यस्ता गम्भीर आरोप र दाबीमा छानबिन गरेर अगाडि बढ्नुपर्नेमा उल्टै भ्रामक र मिथ्या सूचना भनेर विज्ञप्तिबाजी गर्नु क्यानको हदैसम्मको लज्जाजनक कार्य हो । यस्ता गम्भीर प्रकारको फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित पेस गर्न भन्दै क्यान जिम्मेवारीबाट पछि हटेको भनी आलोचना सुरु भएको छ ।
स्रोतका अनुसार नेपाल टी–२० लिगका क्रममा ७–८ नेपाली खेलाडीले आफूलाई सट्टबाजले बेटिङ र स्पट फिक्सिङका लागि प्रस्ताव गरेको उजुरी एसीयूमा गरेका छन् ।