काठमाडौँ / नेपालले विश्वकप लिग-२ मा स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण विजय हात पारेको छ । नेपालले लिग-२ को शृंखला क्लिन स्विप गरेको छ ।
कप्तान रोहित पौडेलले अविजित ९५ रन बनाएपछि नेपालले २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमा पूरा गरेको थियो । रोहित र करण केसीले नवौं विकेटमा अविजित ७५ रनको साझेदारी गर्दै नेपाललाई स्मरणीय विजय दिलाएका थिए । नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पारेको छ ।
सातौं ओभरमा नेपाल १९–२ को अवस्थामा ब्याटिङ गर्न आएका रोहितले अविजित ९५ रन बनाए । करणले अविजित ३१ रन बनाए । कुशल भुर्तेल १ रनमै आउट भएका थिए । अर्का ओपनर आसिफ शेखले १२ रन बनाएर आउट भए। ज्ञानेन्द्र मल्लले २१ रन जोडे ।
कुशल मल्ल २७ रन बनाएर आउट भए । सन्दीप जोरा १, दीपेन्द्र सिंह ऐरी ७, सोमपाल कामी २ र सन्दीप लामिछाने ९ रनमा आउट भएका थिए ।टस हारेपछि ब्याटिङको निम्ता पाएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अलआउट भएको थियो ।