काठमाडौँ/ आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएई विरुद्धको खेलमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो । यूएईलाई पराजित गरेसँगै नेपाल लिग टु को शीर्ष तीनमा परेर विश्वकपमा छनोट भएको छ ।
३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डीएल नियमअनुसार विजयी भएको हो । नेपाल खेल रोकिँदा ९ रनले अगाडि थियो । नेपाल ९ रनले विजयी भएको हो ।
बिहीबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेल जितेपछि नेपालले नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्ने अवसर पाएको छ ।
नेपालको जितमा कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकको योगदान रहयो । नेपालले खेलेका १२ खेलमध्ये ११ मा जित हात पारेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो ।
यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका थिए । त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाएका थिए । ४९ बल सामना गरेका उनले ६ छक्का र २ चौका हानेका थिए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिएका थिए ।