काठमाडौं/ बागमती प्रदेशले सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० अंकभार नियम लागू गर्ने भएको छ । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले तत्काल यो नियम लागू गर्न सबै यातायात व्यवस्था कार्यालयलाई बुधबार परिपत्र गरेपछि आइतबारदेखि यसलाई कार्यन्वयनमा ल्याउन लागिएको हो ।
मन्त्रालयको निर्देशनअनुसार सबै यातायात कार्यालयले यसको तयारी अघि बढाएका छन् । आगामी आइतबारदेखि यातायात व्यवस्था कार्यालय चाबहिलले सो नियम लागू गर्ने तयारी गरेको छ । अर्को सातादेखि अन्य यातायात कार्यालयले यो नियमलाई लागू गर्ने गृहकार्य गरेका छन् ।
बागमती प्रदेशमा लाइसेन्सको परीक्षा लिने ६ कार्यालय छन् । काठमाडौं उपत्यकामा एकान्तकुना, चाबहिल, स्वयम्भू र जगाती गरेर चारवटा छन् । त्यस्तै, हेटौँडा र चितवनमा पनि यातायात कार्यालय छन् ।
वि. सं. २०७७ साल चैत १९ गते जारी भएको सवारीचालक अनुमतिपत्र परीक्षा कार्यविधि निर्देशिकामा परीक्षासम्बन्धी नयाँ प्रावधान व्यवस्था गरिएको थियो । नयाँ प्रावधान अनुसार ट्रायल परीक्षामा सय पूर्णाङ्कमा ७० अङ्क ल्याए उत्तीर्ण हुने प्रावधान छ । अहिले शतप्रतिशत अङ्क ल्याएमा मात्रै ट्रायल पासहुने नियम छ ।
ट्रायलमा नयाँ प्रवधान लागुभएपनि गाडीको हकमा उकालो, ओरालो तथा ‘एल ब्याक’ तथा मोटरसाइक–स्कुटरको हकमा उकालो–ओरालो अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने व्यवस्था छ ।