काठमाडौं/ बागमती सफाइ महाअभियान चार सय ९९ हप्ता पूरा भएको छ । २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार बागमती सफाइ गरिँदै आइएको छ।
‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ निरन्तर प्रत्येक हप्ता बिहान साढे सात बजेदेखि साढे नौ बजेसम्म यो अभियान सञ्चालन गर्ने गरिएको छ ।
जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।
यसैगरी काठमाडौं उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर एक सय नौभन्दा बढी स्थानमा सफाइ भइरहेकोे अभियानकर्मीले जनाएका छन् । वाग्मती सफाइ महाअभियान देशव्यापी जागरण फैलाउन सफल भएको छ ।
यसैगरी शनिबार गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ । सफाइ अभियान जारी रहे पनि दिगो हुन नसकेकमा भने चिन्ता व्यक्त हुन थालेको छ ।