काठमाडौं /सिंहदरबार परिसरभित्रका काम नलाग्ने र बिग्रिएका सवारीसाधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ ।
मुख्यसचिव शङ्करदास बैरागीको संयोजकत्वमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको मङ्सिर १३ गते बसेको ६३औँ बैठकले निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय र निकायलाई परिपत्र गरिएको हो । “सिंहदरबार परिसरभित्र रहेका विभिन्न निकायका पुराना सवारी साधनको उचित व्यवस्थापनका लागि तत् तत् निकायले कानुनबमोजिम लिलामी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन छ”, समितिको परिपत्रमा भनिएको छ ।
त्यस्तै, सिंहदरबार परिसरभित्रको सुरक्षा व्यवस्था, ट्राफिक लाइट र सौन्दर्यकरणजस्ता कार्यका लागि सम्बन्धित निकायलाई पहल गर्न पनि निर्देशन दिइएको छ । सार्वजनिक सेवा प्रवाहमा सुधार, सम्भावित शीतलहरबाट हुने असर न्यूनीकरण, संयुक्त बजार अनुगमनलगायत विषयमा पनि केन्द्रीय अनुगमन समितिले निर्देशन दिएको छ ।