काभ्रे / काभ्रेको बेथानचोक–४ चलाल गणेशस्थानमा मंगलवार भएको दुर्घटनामा मृत्यु भएका एकै परिवारको ८ जनाको शव शुक्रवार परिवारका २ सदस्यले बुझेका छन् । रोजगारीको सिलसिलामा विदेशमा रहेका अमर र जयराम तामाङले शव बुझेका हुन ।
बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टीमा भान्जाको छेवर (व्रतबन्ध) मा सहभागी हुन गएका परिवारका सदस्य शुभकार्य सकेर फर्कंदै गर्दा उनीहरु सवार बस बेथान्चोक–४ गणेस्थान नजिकै मूल सडकमा पल्टिएर दूर्घटना भएको थियो।
दुर्घटनामा १७ को मृत्यु भएको थियो भने २२ घाइते भएका थिए । एकै परिवारका ८ जना सदस्यको मृत्यु भएपछि उनीहरुको शव बुझने कोहि पनि नहुँदा ४ दिन देखि शव धुलिखेल अस्पतालमा थियो । ६महिना अगाडी मात्रै बैदेशिक रोजगारीमा गएका तामाङ दाजूभाई नेपाल फर्किएर परिवारको शव बूझेका हुन ।
दुर्घटनामा उनीहरूले ७९ वर्षीया हजुरआमा निर्मलामाया तामाङ, ५५ वर्षीय बुबा कुमार, २८ वर्षीया जेठी भाउजू मञ्जु, ११ वर्षीय भतिज पुष्कर, ३० वर्षीय माइलो दाइ बुद्ध, २७ वर्षीय माइली भाउजू कोपिला, ५० वर्षीय काका आकुर र ४३ वर्षीया काकी हेमालाई गुमाएका छन् । दूर्घटनामा परि गम्भीर घाइते भएका जेठा दाइ राजनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ६ वर्षीया भतिजी श्रेया घाइते छिन्उ ।
बिहीबार राति मात्रै दाजुभाइ फर्किएपछि शुक्रबार दिउँसो अस्पतालले उनीहरुलाई शव जिम्मा लगाएको थियो । शव गृहबाट एकै परिवारको आठ वटा शव निस्किँदा दाजुभाइ सम्हालिन सकेनन् भने सँगै गएका आफन्त र गाउँले पनि भावविह्वल बनेका थिए । मृतक सबैको अन्त्येष्टिका लागि शव काठमाडौंको स्वयम्भू लगिएको आफन्तले बताएका छन् ।
दुर्घटनामा २२ जना घाइते भएकामा ३ जना उपचारपछि डिस्चार्ज भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।