सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं/ नाबालिका बलात्कारको आरोपमा गत असोजमा पक्राउ परेर केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटी बुझाएर रिहा गर्ने आदेश दिएको छ । न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई विदेश जान रोक लगाउँदै धरौटीमा छाड्न बिहीबार आदेश दिएको हो ।अदालतको यो आदेशसँगै उनी शुक्रबार थुनामुक्त हुँदैछन्।

काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा थुनामुक्त गरेर मुद्दाको टुंगो लगाउन आदेश दिएको हो।

सन्दीप ३ महिना ९ दिनपछि इजलासले लामिछानेलाई सर्तसहित धरौटीमा छाड्ने आदेश दिएको हो । उच्च अदालतको आदेशअनुसार लामिछानेलाई धरौटीमा थुनामुक्त भए पनि यो मुद्दाको फैसला नभएसम्म नेपालबाहिर जान पाउने छैनन् । अदालतले गृह र परराष्ट्र मन्त्रालयलाई ‘प्रतिवादीको नाउँमा जारी भएको राहदानी रोक्का गर्नँ’ भनेको छ । त्यस्तै, अदालतले लामिछानेलाई यो मुद्दा, पीडित किशोरी र उनको परिवारका सदस्यबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा कुनै टीकाटिप्पणी गर्न वा धारणा राख्न पनि रोक लगाएको छ । अदालतले लामिछाने र उनी आबद्ध संस्थाका व्यक्तिलाई ‘पीडित किशोरी र उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा कुनै माध्यमबाट डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्नेसम्बन्धी कुनै कार्य नगर्नँ’ भन्ने आदेश दिएको छ ।

योसँगै अदालतले अदालतले आदेशमा लामिछानेले कुनै काम विशेषले काठमाडौं उपत्यका छाड्नुपरे छाड्ने र फर्कने मिति तथा उपत्यकाबाहिर रहने स्थान खुलाएर जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी दिन पनि भनेको छ । यी सर्त पालना गराउन अदालतले लामिछानेको गतिविधिको निगरानी गर्ने एवं मोबाइल नम्बर, टेलिफोन नम्बरमा सेवा प्रदायक संस्थामार्फत पहुँच राखी त्यससँग सम्बन्धित सामग्री वा विवरणको सञ्चार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउन र जिल्ला अदालतले माग गरेका बखत उपलब्ध गराउन पनि आदेशमा भनिएको छ । कुनै पनि सर्त उल्लंघन गरे लामिछानेलाई धरौटीमा छाड्ने अदालतको आदेश स्वतः निष्क्रिय भएको मानिने र उनलाई थुनामै राखेर मुद्दाको अन्तिम किनारा गर्नॅपर्ने उच्च अदालतले जनाएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीप गत असोज २० गते पक्राउ परेका थिए। किशोरीले सन्दीविरुद्ध प्रहरीमा बलात्कारको मुद्दा हालेको १ महिनापछि सन्दीप पक्राउ परेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज