मकवानपुर/ सत्ता गठबन्धनतर्फबाट उम्मेदवार बनेका राप्रपाका भुवन पाठक वाग्मती प्रदेशको सभामुखमा निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजनअनुसार सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा पाठकले ६२ मत प्राप्त गरेका थिए ।
कुल ११० सदस्यीय प्रदेशसभामा १०९ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए । प्रदेशसभाका ज्येष्ठ सदस्य अर्थात सभाध्यक्ष रामप्रसाद ढुङ्गानाले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन् ।
नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ३७ र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सैंजुलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ३ मत प्राप्त भएको थियो । नेकपा (एस) का ७ जना सांसद तटस्थ रहेका थिए ।