काठमाडौँ /केन्द्रीय अनुसन्धान ब्युरोले गैंडा चोरीसिकार गरी अवैध रूपमा गैंडाको खाग ओसारपसार तथा खरिद बिक्री गर्ने १५ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं–७ सरस्वतीनगर टोलबाट गैंडाको १ थान खाग सहित झापा भद्रपुर नगरपालिका–१० बस्ने ४५ वर्षीय इन्द्रमणि आचार्य र बाँके कोहलपुर नगरपालिका–११ का ४१ वर्षीया जमुनाकुमारी शर्मालाई पक्राउ गरेको हो ।
वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि पुस १९ मा उनीहरू पक्राउ परेपछि अनुसन्धानका क्रममा उक्त आखेटोपहार २० लाखमा बेच्न डिल भएको बयानको आधारमा १३ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
ब्युरोले अनुसन्धानकै क्रममा माघ १२ मा पाल्पा भुवनपोखरीका ६२ वर्षीय बाबुलाल भट्टराईलाई सीतापाइला चोकबाट, कैलाली मखुरियाका ६१ वर्षीय गजाधर सापकोटालाई गोगंबुबाट र कैलाली घोडाघोडीका ३६ वर्षीय प्रताप चौधरीलाई सीतापाइलाबाट पक्राउ गरेको छ।
ब्यूरोका अनुसार माघ २० मा भोजपुर अरुण गाउँपालिका–२ घर भई चाबहिल बस्ने ४५ वर्षीय डम्बरकुमार आलेमगरलाई लगनखेलबाट, गोरखा पालुङटारका ४७ वर्षीय खानबहादुर रानालाई हात्तीसारबाट, स्याङ्जा पुतलीबजारका ४६ वर्षीय निर्मल शाहीलाई जमलबाट पक्राउ गरिएको छ ।
त्यसैगरी, माघ २२ मा स्याङ्जा वालिङ नगरपालिका–८ जैसीपधेंराकी ३८ वर्षीया हरिमाया रानालाई सोही स्थानबाट, माघ २४ मा चितवन भरतपुर महानगर–८ बस्ने ४० वर्षीया सम्झना चेपाङ भन्ने कमला तामाङलाई भरतपुर गौरीगन्ज सल्यानीबाट पक्राउ गरेको हो । प्रहरीले अनुसन्धानकै क्रममा माघ २५ मा थप ५ जनालाई पक्राउ गरेको छ ।
त्यसैगरी पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–९ शेरबास बस्ने ३९ वर्षीय राजु भन्ने सोमबहादुर चेपाङलाई सोही स्थानबाट, चितवन इच्छाकामना गाउँपालिका–७ पदमपुरकी ३० वर्षीया तुलसी चेपाङ, ३९ वर्षीय वीरमान वाइबा, चितवन कालिका नगरपालिका–९ शेरबास बस्ने ३० वर्षीय राधाकृष्ण चेपाङ, भरतपुर महानगरपालिका–८ गौरीगन्ज सल्यानी बस्ने ५२ वर्षीय आइतबहादुर तामाङलाई भरतपुर हाकिमचोकबाट पक्राउ गरेको छ ।