चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले हिरा, सुनका गहना र विभिन्न किसिमका पत्थरहरूसहित ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार दिउँसो भरतपुरको परिसरमा पत्रकार सम्मेलन गर्दै बरामद भएका गहना, कार र नियन्त्रणमा लिएका व्यक्तिहरू सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा कारका चालक भारत उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थानाका ४२ वर्षीय विनोदप्रसाद, भारत पश्चिम बंगाल राज्यका हौंडा जिल्ला गोलाबाडी थाना सल्किया स्कुल रोड कोलकाता बस्ने ४२ वर्षका नरेश बर्मा र ५१ वर्षका गणपतकुमार तोसावर रहेका छन् ।
मंगलबार राति १ बजे उनीहरूलाई महेन्द्र राजमार्गको भरतपुर महानगरपालिका-१२ गोन्द्राङबाट नियन्त्रणमा लिएको हो । अवैध ढंगले गरगहना ओसारपसार हुन लागेको सूचनाका आधारमा जाँच गर्दा डब्लुबी १२ एभी ५५६६ नम्बरको कारबाट ती सामग्रीहरू फेला परेका हुन् । सुनका गहना ६३ तोलाभन्दा धेरै र हिराका गहना २२ तोलाभन्दा धेरैको रहेको प्रहरीले जनाएको छ ।
चालक बस्ने सिटको पछाडिको सिटमुनि, गियर बक्स र एयर फिल्टरभित्र लुकाएर ती सामग्रीहरू ल्याएको थिए।