तनहुँ/ उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न सकिनु तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं-२ दगाम गाउँको परिचय हो ।
प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहारले दगाम गाउँको अर्को परिचय दिँदै आएको छ । सरल, निश्चल र सहयोगी गाउँलेहरूमा ‘अतिथि देवो भवः’ भावना प्रष्ट झल्किन्छ । गाउँलेको निश्चल हाँसो, बोली र व्यवहारले टुटेपानी गाउँ पुग्ने जो–कोहीलाई लठ्ठ बनाउने गरेको छ ।
दगाममा मगर र भुजिकोटमा गुरुङ जातिको बाहुल्यता छ । तेइस घरमध्ये २० घर मगर र तीन घर गुरुङ बस्छन् । यहाँबाट हिमाल, डाँडासँगै शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखरा फेवातालसम्मको दृश्यले यहाँ आउने जो–कोही लोभिने गरेका छन् ।
प्रकृति, संस्कृति र आत्मियतासँग रमाउन आन्तरिक पर्यटक पुग्न थालेपछि पछिल्ला वर्षमा आफूहरूले घरबास ९होमस्टे० सञ्चालन गरेको दगाम सामुदायिक होमस्टेका संयोजक नन्दराम थापाले बताए ।
आफूहरूले घरबासलाई दगाम सामुदायिक होमस्टे नामाकरण गरेको बताउँदै थापाले विसं २०६५ स्याङ्जाको शिरुबारी गाउँ अवलोकनपछि दगाममा घरबास कार्यक्रम सुरुआत गरेको जानकारी दिए।
“होमस्टे चलाउने भनेर विसं २०६३ देखि नै हामीले योजना बनाएका हौँ”, उनले भने, “शिरुबारी गएर सिकेपछि झनै सजिलो भयो अनि गाउँले मिलेर नै खोलियो ।” घरबास सञ्चालनमा आएसँगै पाहुनाहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले हामहिरु उत्साहित भयौं उनले थपे ।
दगाममा प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता छ । घरबासका लागि एक हजार चार सय रुपैयाँको प्याकेज उपलब्ध छ । यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा पाइन्छ ।
मगर र गुरुङ जातिको संस्कृति यहाँको अर्को आकर्षण हो । यहाँ कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने गरिन्छ । यी नृत्यका साथै घाँटुनाच पनि यहाँको अर्को मौलिकता हो । चैत–वैशाखमा वरपरका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ ।