पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार तीन मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गरेका छन्। यससँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ ।
मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेका तर्फबाट दुई र नेकपा माओवादी केन्द्रका तर्फबाट एक जना मन्त्री थपिएका हुन्। मुख्यमन्त्री अधिकारीले नेकपा एमालेबाट रोशनबहादुर गाहा आन्तरिक मामिला तथा कानुनमन्त्री र बेदबहादुर गुरुङलाई कृषि, ऊर्जा र जलस्रोतमन्त्रीमा नियुक्त गरेका हुन । त्यसैगरी माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी मुख्यमन्त्री अधिकारिले यसअघि मन्त्री नियुक्त भएका मन्त्रीहरुलाई समेत कार्यविभाजन गरेका छन् । जसअन्तर्गत माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका हरिबहादुर चुमानलाई भौतिक, पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपा एमालेका सीताकुमारी सुन्दासलाई आर्थिक मामिला र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीको जिम्मवेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पद तथा गोपनीयताको शपथ गराइएको छ ।