भारतले दिएन उडान अनुमति

पोखरा/ भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो सहरहरूमा अन्तर्राष्ट्रिय उडानको अनुमति दिन आनाकानी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुद्ध एयरले पोखराबाट पहिलो चरणमा बनारस (वारणासी) मा र त्यसपछि दिल्ली र देहरादुनका अन्तर्राष्ट्रिय विमानस्थलहरूमा उडान गर्न अनुमति मागेको थियो ।

हाल काठमाडौंबाट बनारस उडान गरिरहेको बुद्ध एयरले भारतका पर्यटकीय शहरहरूमा पोखराबाट उडान गर्ने योजना बनाएर नेपाल नागरिक उड्डयन प्राधिकरणको सहमतिमा नागरिक विमानन महानिर्देशनालय (डीजीसीए)सँग अनुमति मागेको थियो । अहिलेसम्म भारतले बुद्धको प्रस्तावलाई ‘निर्णय प्रक्रियामा रहेको’ जवाफ दिएर टारिरहेको छ ।

अधिकारीहरूका अनुसार पोखरा र भारतीय शहरहरूलाई हवाई सेवामा जोड्न भारत इच्छुक छैन । ‘तर, अहिलेसम्म भारतले यस्तो अनुमति नै दिएन । खासै सकारात्मक जवाफ पनि आएन’ नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोत भन्छ । १७ पुस २०७९ मा उद्घाटन भएको पोखरा विमानस्थल २ फागुनमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रविधिको जडान सकेर पूर्ण सञ्चालनमा आएको थियो ।

विमानस्थल उद्घाटन भएकै दिनमा बुद्धले बनारसबाट पोखरासम्म अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्न अनुमति मागेको थियो । उसले काठमाडौं–बनारसकै रुटबाट पोखरामा उडान गर्न चाहे पनि भारतले अनुमति नदिँदा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आन्तरिक उडानमार्फत गरिएको थियो । सञ्चालनमा आएको चार महिना बितिसक्दा पनि पोखरामा बुद्धबाहेक अन्य कुनै पनि वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका छैनन् । एयर चाइना, थाइ स्माइल एयर, रोयल भुटान एयरलाइन्सले चासो दिएपनि उडान अनुमति लिने प्रक्रियाका लागि पत्राचार गरेका छैनन् ।

भारतले गरेको यो खालको व्यवहार नयाँ भने होइन । माग गरेको लामो समय भइसक्दा पनि भारतले अहिलेसम्म नेपालको हिमालय एयरलाइन्सलाई पनि भारतमा उडानका लागि ‘लेटर अफ अथोराइजेसन’ दिएको छैन । बुद्ध एयर र नेपाल एयरलाइन्सलाई उडानका लागि यस्तो आधिकारिता दिएपनि चिनियाँ लगानीकर्ता रहेको हिमालयले अहिलेसम्म भारतमा उडान गर्ने मान्यता पाएको छैन ।
दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवालाई अत्यावश्यक रहेको पश्चिम नेपालका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरका हवाई प्रवेश विन्दु र रुटबारे भारतले छलफल नै गर्न चाहेको छैन । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि अब भारतीय शहरसँग उडानमार्फत जोडिने तयारीमा छ । हालसालै नेपाली एयरलाइन्सले भैरहवाबाट दिल्लीमा उडानका लागि पहिलोपटक भारतलाई प्रस्ताव गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज