सुर्खेत/वीरेन्द्रनगर–११, रत्न राजमार्गमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार छिन्चुबाट सुर्खेततर्फ आउँदै गरेको बा प्र ०१०२६ च ९२१३ नम्बरको उक्त गाडी आइतबार बिहान २ः३० बजे अनियन्त्रित भई सडकदेखि करिब ८० मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार घाइतेहरुको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र उपचारका क्रममा चार जनाको मृत्यु भएको प्रहरीको भनाइ छ।
दुर्घटनामा मृत्यु हुनेहरुमा गाडी चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बि.सी रहेका छन् ।