घूस लिएको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख निलम्बित

राजविराज / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार घूस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता निलम्बित भएका छन् ।

अख्तियारका अनुसार नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनयर रामचन्द्र साहबीचको आपसी मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनाका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घूस लिएको प्रमाणित भएको छ । घूस लिएको प्रमाणित भएपछि नगरप्रमुख गुप्ता र इन्जिनयर साहमाथि बुधबार विशेष अदालतमा भ्रष्टाचार निवारण एैन,२०५९ को दफा ३ को उप दफा (१) को कसुरमा आरोप पत्र दायर गरिएको छ।

अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एक लाख ४० हजार रुपैयाँ घूस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो । इन्जिनयर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगर प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारद्वारा जारी विज्ञप्ती अनुसार दुवै जनालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो एक लाख ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन ,२०५९ को दफा ३ को उपदफा (१) र सोही दफ ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज