सुदुरपश्चिममा भूकम्प, बाजुरामा एकको मृत्यु, दर्जनौं घर भत्किए

काठमाडौं / बझाङको बिच्छ्याँको मौलालाई केन्द्रबिन्दु बनाएर दिउँसो २ः४३ बजे ५.९ म्यानिच्युडको भूकम्प गएको छ । भूकम्पका कारण विभिन्न ठाउँमा गरी २५ घर भत्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराले भूकम्पबाट भएको क्षतिको विवरण संकलन कार्य भइरहेको जनाएको छ।

बझाङको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ। गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मंगलबार दिउँसो भूकम्प गएको बेला जंगलमा घाँस काटिरहेकाबेला माथिबाट ढुंगा खस्दा उनको मृत्यु भएको बताइएको छ ।

गौमुल गाउँपालिका वडा नं.१ का एक जना घाइते भएका छन्। जंगलमा भेडा चराउन गएकाबेला माथिबाट भीर फुटेर पहिरो जाँदा ५० देखि ६० भेडा मरेका र गोठालो गएका रामदल बोहरा घाइते भएको स्थानीयले बताएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भूकम्पमा परी एक जना घाइते भएका छन । जिल्लाका सबैजसो पालिकामा कतिपय निजी र सार्वजनिक भौतिक संरचनामा क्षति भएको छ ।भूकम्पका कारण जयपृथ्वी नगरपालिका, बुङगल नगरपालिका, सुर्मा, मष्टा, तलकोट, खप्तडछान्ना, थलारा र साइपाल गाउँपालिकास्थित थुप्रै निजी घर र विद्यालय, स्वास्थ्य चौकी जस्ता सार्वजनिक संरचनाहरुमा क्षति पुगेको विवरण आइरहेको प्रहरीले जनाएको छ । भूकम्पको क्षतिको पूर्ण विबरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज