कैलाली/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई दुई तिहाइ सदस्यको मत प्राप्त भएको छ । प्रदेश सभाको आइतबार बसेको बैठकबाट मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रदेश सभामा मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १० , नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका हुन् ।
५३ सदस्यीय रहेको प्रदेश सभामा नेकपा एमालेका १० जना र राप्रपाका १ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा बस्दै मुख्यमन्त्री शाहलाई विश्वास मत नदिएका हुन् ।
मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि शाह धारा १६८ को उपधारा ३ बमोजिम माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।