सुरेन्द्र ढकाल
नेपालीमा एउटा भनाइ छ । मूतको न्यानो शुरुमा तातो भएपनि पछि चिसिँदा पीडादायी हुन्छ भन्छन् । बुद्ध नेपालमा जन्मेका हुन भन्दै लगातार ६५ घण्टा टेलिभिजन कार्यक्रम सञ्चालन गरी विश्व रेकर्ड कायम गर्दै गिनिज बुकमा आफ्नो नाम अंकित गर्न सफल भएपश्चात मेरो सम्पादन र प्रकाशनमा चलिरहेको ग्रेटर नेपाल साप्ताहिकले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसरमा २०७१ सालमा रवी लामिछानेलाई राष्ट्रवादी सञ्चारकर्मी भन्दै एक भव्य समारोह बीच उनले काम गर्ने संस्था न्यूज ट्वान्टीफोर टेलिभिजन समेतलाई सम्मान गरेको थियो । त्यसैकारण होला रवीले आफ्नो कार्यक्रम सिधाकुरा जनतासँग मार्फत ग्रेटर नेपालको पक्षमा निरन्तर वकालत गरेका थिए ।
म आफू ग्रेटर नेपालको प्रथम अभियन्ता भएको कारण रवी प्रति गौरव गर्नु मेरो लागि स्वभाविकै थियो । यसै गरी पत्रिकाको प्रथम वार्षिकोत्सवमा हामीले सीमाविद् बुद्धिनारायण श्रेष्ठ र ग्रेटर नेपाल चलचित्र निर्माता मनोज पण्डितलाई सम्मान गरेको थियौ । पछि पत्रिकाको तेश्रो वार्षिकोत्सव २०७२ सालमा हामीले अर्का राष्ट्रवादी नायक, निर्माता निर्देशक नबल खड्कालाई पनि राष्ट्रिय सम्मान दिएका थियौ ।
यसपालिको चुनावमा रबी आफ्नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट, म नेकपा ९माले० राजनीतिक दलबाट र मनोज पण्डित स्वतन्त्रबाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका थियौ । मैले सामाजिक सञ्जाल मार्फत हामी तिनै जना ग्रेटर नेपालका पक्षपाती भएको कारण एक अर्कालाई सघाई आउने संसद्मा ग्रेटर नेपालको आवाज बुलन्द गरौँ न भन्ने प्रस्ताव राखेको थिए । सीमाविद् बुद्धिनारायण श्रेष्ठ तथा नायक नबल खड्काले पत्रिका दसौं वार्षिकोत्सवमा सम्बोधन गर्दै मेरो पक्षमा खुलेरै मत माग्नु भएको थियो । तर मेरो प्रस्ताव प्रति दुवै सम्मानित व्यक्तित्व रवी र मनोजबाट कुनै प्रतिकृया आएन बरु ठीक त्यसको विपरित रवीले मेरै चुनाव क्षेत्रमा पुकार बमलाई उठाइदिएपछि उनी कस्ता मान्छे रहेछन् भन्ने पर्यो मलाई ।
अहिले रवीको दल चुनाव जिती राष्ट्रिय दल बन्न पुगेको छ । हामी दुई मनोज पण्डित र म हारेका छौं । चुनाव जितेकोमा रवीलाई बधाइ दिँदै निम्नानुसारका प्रश्नहरू रवी समक्ष राख्न चाहन्छु ।
१. अव संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीले चुच्चे नक्साको सट्टा संविधान संसोधन गरी ग्रेटर नेपालको नक्सा नेपालको संविधानमा समावेश हुनु पर्छ भन्ने आवाज उठाउँछ उठाउँदैन ?
२. प्रदेशलाई नेपालको अर्थतन्त्रले धान्न सक्दैन तसर्थ प्रदेश खारेज गरी संघ र स्थानीय तह मात्रै रहेको आधारभूत संघीयता पक्षका रवीको दलले बोल्छ बोल्दैन ?
३. रवीको दलको चुनाव चिन्ह घन्टी चर्चको हो की मन्दिरको हो भनेर मतदाता सोध्न थालेका छन । यसको जवाफ रवीसँग छ की छैन । धर्म निरपेक्षता खारेज गर्दै नेपाललाई भेटिकन सिटी र मक्का मदिना जस्तै हिन्दु र बौध्द धर्मको अन्तर्राष्ट्रिय केन्द्र बनाउने तर्फ रवीको दल लाग्छ की लाग्दैन ?
४. २०४७ सालमा वहुदलीय ब्यवस्थाको स्थापनासँगै भ्रष्टाचार संस्थागत भएको छ । धमिजाकाण्डबाट शुरु भई वाइडवडीसम्म आउँदा भएका भ्रष्टाचारका विभिन्न काण्ड मार्फत सबै सत्तारुढदलहरु र तिनका नेताहरुले अकूत सम्पत्ति कमाएका छन् । त्यस्तो सम्पती राष्ट्रियकरण गरी भ्रष्ट्राचारीहरुलाई कठोर सजाय दिने तर्फ संसद्मा रवीको दलले कुरा उठाउँछ वा उठाउँदैन ?
५. नेपाल विश्वकै सबैभन्दा ठूलो ब्यापारघाटा भएको मूलुक हो । राष्ट्रबैकमा विदेशी मुद्राको संचिति घटने वित्तिकै आयातमूखी अर्थतन्त्र धराशायी हुन्छ भन्ने कुरा श्रीलंकाले देखाइसकेको परिप्रेक्ष्यमा यस स्थितिलाई कसरी सामना गर्ने भन्ने रवीको दललाई ज्ञान छ की छैन ? अर्को कुरा विश्वब्यापी तापक्रममा आएको चढावको कारण नेपाली हिमालीक्षेत्रको मरुभूमीकरण हुँदै गएकोमा त्यस विरुद्ध रवीको दललाई कस्तो कदम चाल्नु पर्छ भन्ने कुरा थाहा छ कि छैन ?
६. राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण भएको कारण वलात्कार र हत्याका दोषीहरु उन्मुक्त भएर हिडिरहेका छन् । वालश्रमको स्थिति भयावह छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने होस र जोश रवीका दललाई छ की छैन ?
७. साधारण खर्च र विकाश खर्चको अनुपात ७० र ३० प्रतिशतको हाराहारीमा पुग्नु, आर्थिक वर्ष सकिन लाग्दा समेत कुल विकाश बजेटको ३० प्रतिशत पनि खर्च हुन नसक्नुको कारण के हो र यस समस्यालाई कसरी समाधान गर्दै विकाश बजेट कसरी वढाउन र शत प्रतिशत कसरि खर्च गर्न सकिन्छ भन्ने ज्ञान रवीको दललाई छ की छैन ?
माथि उल्लेखित ७ वुँदाहरुलाई सम्बोधन गर्न सक्ने क्षमता प्रदर्शन गर्न सकेमा मात्रै रवीको राजनीति दिगो होला अन्यथा ति वुँदाहरु मध्ये कुनै एक वा अर्कोलाई वेवास्ता गर्ने प्रवृत्ति रवीको दलमा देखियो भने यूवाहरुले केही गर्न सक्छन भन्ने जनविश्वास झुठो सावित मात्रै हुने होइन यसपालीको चुनावमा देखिएको सफलता रवीको लागि मूतको न्यानो मात्रै हुनेछ ।