डा. केदार कार्की
संयुक्त राष्ट्रसंघका अनुसार दशमध्ये नौ जना व्यक्तिहरूले प्रदूषित हावामा स्वास फेर्ने भएकोले मृत्युको एक मुख्य कारण पनि वायु प्रदूषण बनेको छ । प्रदूषणले ग्रस्त वायुमा देख्न नमिल्ने स–साना कणहरू स्वास फेर्दा सिधै फोक्सोमा पुग्छन्। यसले क्यान्सर, निमोनिया, मुटु रोग साथै प्राण घातक रोग निम्त्याउने गर्दछ । विश्व स्वास्थ्य संगठनले गरेको अनुमानमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण विश्वभर करिब ७० लाख व्यक्तिहरूको मृत्यु हुने गर्दछ । वायु प्रदूषण हुने विभिन्न कारणहरू छन् जसमा घरायसी काम, कृषिजन्य पदार्थ, कल कारखाना, तथा सवारी–साधनबाट निस्कने धुवाँ–धुलो र अन्य फोहोरहरू पर्दछन् । खासगरी शरद ऋतुसँगै बाली भित्र्याउने याम पनि सुरु हुन्छ । खेतबारीमा काटिएका बालीका पराल नष्ट गर्नका लागि उनीहरूले त्यसमा आगो लगाउँछन्, जसबाट निकै विषालु धुवाँ वायुमण्डलमा बाक्लिन्छ ।
यसरी निस्कने धुलो–धुवाँ वायुमण्डलमा मिसिन्छ र ओजोन तहलाई पातलो बनाउँछ । ओजोन तह पातलिएपछि सूर्यका विकिरण सोझै पृथ्वीमा पर्ने भएकाले सम्पूर्ण प्राणी र प्रकृतिलाई नै यसले असर गर्दछ । प्रदूषणलाई रोक्न नसके पनि यसलाई न्यूनीकरण गर्न विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ मिलेर काम गरिरहेका छन् । यी दुई संघ मिलेर मुख्य गरी जल र वायु प्रदूषणमा केन्द्रित रहेर काम गरिरहेका छन् । पछिल्लो समय वातावरणमा नकारात्मक परिवर्तन देखिँदै आएको छ । अध्ययनका अनुसार अस्पतालमा आउने बिरामीहरू वातावरण प्रदूषणको कारणले बढ्दै गइरहेकोे देखिन्छ । वायु प्रदूषणको प्रकोप ठूलाभन्दा पनि साना बालबालिका र बुढापाकामा बढी परेको देखिन्छ । स्कुल जाने बालबालिकाले मास्कको प्रयोग गरे पनि प्रदूषित हावापानीले उनीहरू शारीरिक तथा मानसिक रूपले कमजोर हुँदै गएका छन् ।
बढ्दै गएको वातावरणीय समस्याले चाँडै नै प्राकृतिक सम्पदाहरू नष्ट हुने वातावरण विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। यसरी बढ्दै गइरहेको प्राकृतिक सम्पदाकोे विनाशलाई कम गर्न वातावरणीय क्षेत्रमा काम गर्ने संघसंस्था र विज्ञहरू लागिपरेका छन्। बढ्दो वातावरण हाम्रो वातावरणमा भएका सम्पूर्ण तत्वहरूको प्राकृतिक गुणमा भएको ह्रास नै प्रदूषण हो । वातावरणीय प्रदूषण भन्नाले वातावरणका भौतिक, रासायनिक तथा जैविक वस्तुहरूका अनावश्यक परिवर्तनलाई बुझान्छ । वातावरणीय प्रदूषण वर्तमान विश्वको एक प्रमुख समस्या बनिरहेको छ । भौतिक, रासायनिक तथा जैविक वस्तुको अनावश्यक परिवर्तनका कारण वातावरणीय प्रदूषण वर्तमान विश्वको एक प्रमुख समस्या बन्न पुगेको छ ।
प्राचीन विश्वमा वातावरण मात्रै प्राकृतिक परिवर्तनका कारण परिवर्तित हुन्थ्यो, अनि वातावरणमा हुने प्रदूषण पनि प्राकृतिक प्रदूषण हुने गर्दथ्यो । तर, आज पृथ्वीमा भइरहेको जनसंख्या वृद्धि प्रदूषणको मुख्य कारक बनिरहेको छ । जनसंख्याको बढ्दो चापसँगसँगै प्रदूषणका समस्या पनि बढ्दा देखिन्छन् । प्रदूषण आफैंमा एउटा समस्या हो भने प्रदूषणका कारण उत्पन्न हुने अन्य वातावरणीय समस्याहरू पनि छन् । वातावरणीय प्रदूषणकै कारण पृथ्वीको तापक्रममा वृद्धि भइरहेको, अतिवृष्टि, अनावृष्टि र अल्वृष्टि जस्ता विकराल समस्याहरू देखापरिरहेको कुरा वातावरणीय अनुसन्धानले पुष्टि गरेको छ ।
यस्ता ठूला समस्याहरू पनि अप्रत्यक्ष रूपमा प्रदूषणकै कारण हुन् । प्रदूषणका कारण देखिने यस्ता समस्याहरूले वातावरणलाई थप प्रदूषित गरिरहेका हुन्छन् । प्रदूषणको प्रकृतिअनुसार प्रदूषणलाई प्राकृतिक कारणले हुने प्रदूषण जस्तै ज्वालामुखीबाट निस्कने धुँवा, धुलोले गर्ने प्रदूषण र मानवद्वारा हुने प्रदूषण (जस्तैः फोहोर मैला, आवाजहरू) भनी छुट्याइन्छ । कुरा जे भए पनि प्राकृतिक प्रदूषणका अप्रत्यक्ष कारक पनि मानव नै हुन् ।
प्रदूषण हाम्रो वातावरणका हावा, पानी र जमिन सबैमा हुन सक्छ । यी सबै क्षेत्रका प्रदूषण प्रत्यक्ष वा अप्रत्यक्ष अन्तरसम्बन्धित रहन्छन् । त्यसैले यीमध्ये कुनै एउटा क्षेत्रमा हुने प्रदूषणको प्रत्यक्ष असर त त्यहाँ रहेका प्राणीलाई हुन्छ नै, अप्रत्यक्ष असर अन्य क्षेत्रका प्राणीलाई पनि हुन सक्छ । जस्तो जमिनमा हुने प्रदूषणले जल प्रदूषणमा पनि भूमिका राख्छ अनि अप्रत्यक्ष असर जलचरलाई गर्दछ । आजको विश्व निरन्तर विकासतर्फ उन्मूख छ । औद्योगिकीकरण, सहरीकरण, उन्नतिका सूचक मानिन्छन् । तर तीव्र गतिमा भइरहेको यो विकास प्रक्रियाले बढाइरहेको प्रदूषण विकासभित्र विनास निम्त्याइरहेका छन् ।
आधुनिकीकरण सँगै फैलिरहेका उद्योग, कलकारखाना एकातर्फ विकासोन्मुखताप्रति रहे भने अर्काेतर्फ त्यसबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापनका अभावमा देखिएका समस्या प्रदूषणका प्रमुख कारक बन्दै छन्। आज बढिरहेको प्रदूषणका नकारात्मक असरहरू अहिलेभन्दा पनि कालान्तरमा अझ बढ्नसक्ने देखिन्छ । यसकारण पनि वातावरणीय प्रदूषणलाई आमचासोको विषय बनाउनुपर्ने कुराले महत्व पाएको हो ।
अहिले विश्वको जनसंख्याको चाप निकै तीव्र छ । करिब १० हजार वर्षअघि पृथ्वीमा संख्या करिब ५० लाख भएकोमा हाल यो संख्या ६ ।६ अर्ब पुगेको एक तथ्यांकले देखाउँछ । जनसंख्याको आँकडाअनुसार पृथ्वीमा प्रत्येक घण्टामा ९ हजार जना थपिन्छन् । अर्थात् १५० जनाप्रति मिनेटका दरले जनसंख्या बृद्धि भइरहेको छ । जनसंख्या वृद्धिसँगै मानिसका आधारभूत आवश्यकतामा पनि वृद्धि हुन्छन् । गास, बास, कपास जस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि पनि प्राकृतिक स्रोतमाथिको परनिर्भरता बढ्ने कुरा सापेक्षित हुन्छ । वन जंगल, बन्यजन्तु, खनिज आदि जस्ता प्राकृतिक स्रोतहरू माथिको हस्तक्षेपमा पनि बृद्धि हुन्छ । फलतः वातावरणमा त्यसले झनै नकारात्मक असर पुर्याइरहेको हुन्छ । बन फडानी जनसंख्या बृद्धिको कारण विश्वमा उत्पन्न वातावरणीय समस्याको एउटा ज्वलन्त उदाहरण हो ।
निस आफू बाँच्नका लागि मात्रै नभै पृथ्वीमै आधिपत्य जमाउन चाहन्छ । यसै सन्दर्भमा मानवले अन्य प्राकृतिक स्रोत सँगसँगै बनजंगल, वन्यजन्तु जस्ता जीवित प्राणीका प्रजातिसँग कुनै किसिमको प्रतिस्पर्धा गरिरहेको हुन्छ । यही क्रममा दिनानुदिन बनक्षेत्रमाथि हस्तक्षेप बढाएर त्यसलाई बासस्थान (आवासक्षेत्र) तथा कृषिका लागि प्रयोग गर्ने क्रम विकसित देशहरूमा मात्रै होइन विकसित देशहरूमा पनि बढ्दो छ । एकातर्फ बनक्षेत्र घटाएर त्यसलाई आवासक्षेत्र तथा कृषिभूमिका रूपमा परिणत गरिंदैछ भने अर्कोतर्फ शहरीकरणले कैंयौ खेतीयोग्य उर्वरभूमिहरू पनि आवासीय क्षेत्रमा बदलिंदैछन् ।
पेट्रोल र डिजलबाट चल्नेभन्दा पनि विद्युतीय सवारी साधन प्रयोग गर्दा वायु प्रदूषण रोकथाम गर्न सकिन्छ । यसैले शहरीकरणका कारण पनि खेती उत्पादनको मात्रामा ह्रास आएको कुरालाई नकार्न सकिन्न । खाद्यान्न समस्या पनि अर्को आर्थिक वातावरणीय समस्या हो । शहरीकरण तथा औद्योगिकीकरणले वातावरणमा निकै नकारात्मक परिवर्तन निम्त्याउँछन् भन्दा अत्युक्ति नहोला यद्यपि आर्थिक दृष्टिकोणले यी दुवै सकारात्मक पक्ष पनि हुन् । आर्थिक–वातावरणीय दृष्टिकोणले हरेक विकास निर्माणका कामहरू निकै चुनौतीपूर्ण हुन्छन्् ।
पृथ्वीमा हुने सबै आर्थिक, सामाजिक गतिविधिहरूले वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छन् । त्यसकारण दिगो विकासका निम्ति वातावरणको संरक्षण आजको प्रमुख आवश्यकता हो । आर्थिक विकास सँगसँगै वातावरणीय सन्तुलन कायम गर्नु आमचुनौतीको विषय हो । यो चुनौती आज विकसित मुलुकका लागि मात्रै भएर विकासोन्मुख राष्ट्रहरूका निम्ति पनि झनै टड्कारो रूपमा देखिन्छ । हाम्रो मुलुकजस्तो अविकसित मुलुकका लागि पनि वातावरणीय सन्तुलन कायम गर्नु एउटा चुनौतीपूर्ण कुरा हो । वातारणलाई सन्तुलन राख्नका निम्ति वातावरणीय प्रदूषण न्यूनीकरणका साथै विकासका पूर्वाधारहरूको उचित व्यवस्था विकासोन्मुख राष्ट्रहरूका लागि आर्थिक दृष्टिकोणले पनि चुनौतीपूर्ण छ ।
यद्यपि प्रदूषणको विश्वव्यापी समस्या न्यूनिकरणका लागि यो एउटा सानो प्रयासले ठूलो भूमिका खेल्न सक्छ । आज विकसित राष्ट्रहरूमा फस्टाइरहेका उद्योग, कारखानाले गर्ने प्रदूषणको शिकार अविकसित मुलुकहरू पनि भइरहेको कुरा यथार्थपरक छन् । हामी आफैले गरेको प्रदूषणको असर मात्रै नभई अरूले गर्ने प्रदूषणको असर पनि खेप्नु परिरहेको कुरा स्पष्ट छ । यसकारण वातावरणीय प्रदूषणको असर प्रदूषण गर्नेलाई मात्रै होइन नगर्नेहरूलाई पनि पर्ने हुनाले वातावरण जोगाउनु हामी सबैको दायित्व हुन्छ ।
अन्ततः वातावरणीय प्रदूषणका कारण हुन सक्ने सम्पूर्ण खतराहरूप्रति सचेत हुनुपर्ने स्थिति वर्तमान विश्वभरी नै छ । हामी अविकसित मुलुकका नागरिकहरूमा पनि यो चेतना हुनु जरूरी छ । प्रदूषण न्यूनीकरण गर्ने कुरामा आफू पनि चासो राखौं र जनचेतना अभिवृद्धिका निम्ति पनि केही योगदान गरौं । अविकसित मुलुकका सचेत नागरिकको उदाहरण विकसित राष्ट्रका नागरिकहरूलाई पनि उदाहरणीय बन्न सक्छ । प्रदूषणलाई न्यूनीकरण गर्नका लागि विभिन्न तरिकाहरू प्रयोगमा ल्याउन सकिन्छ ।
सरकारी तहबाट मात्र नभई स्थानीय तहबाट पनि चेतनामुलक कार्य गर्ने हो भने वातावरण स्वच्छ राख्न सकिन्छ । सवारी साधन चलाउँदा पेट्रोल र डिजलबाट चल्नेभन्दा पनि विद्युतीय सवारी साधन प्रयोग गर्दा वायु प्रदूषणलाई रोकथाम गर्न सकिन्छ । त्यस्तै खाना पकाउँदा सुधारिएको चुलोलाई प्रयोगमा ल्याउने हो भने घरको वातावरण स्वच्छ रहन्छ । सडक किनारा तथा घरवरिपरि वृक्षरोपण गर्ने हो भने पनि धेरै हदसम्म प्रदूषण न्यूनिकरण गरेर वातावरण सन्तुलित राख्न सकिन्छ । वातावरण जोगाउनका लागि यसलाई हानि पु–याउने कार्यहरू नगर्न सकिन्छ, जस्तैः बाटोमा फोहोर नजलाउने, घरायसी फोहोर जथाभावी नफाल्ने, प्लास्टिकको प्रयोग नगर्ने, वन जंगल फँडानी कम गर्नेलगायत विभिन्न क्रियाकलापले वातावरण संरक्षणमा मद्दत पु–याउन सक्छन्।