यदि संसारको कुनै देशको राजनीति फोहोरी छ भने त्यो नेपालको मात्रै हुनुपर्छ । देशको ऐन कानुनले बहुविवाहलाई अपराध मान्छ । झन् त्यसमाथि पनि अर्काकी छोराछोरी सहितकी श्रीमतीलाई उछिट्याएर बहुविवाह गर्नु विकृति नै हो । त्यतिमात्रै कहाँ हो र त्यसरी लिएर आएका दुवै श्रीमतीलाई समानुपातिकतर्फको संघ र प्रदेश दुवैको सांसद बनाउनुले त नेपालको राजनीति सुँगुरहरू हालीमुहाली भएको फोहोरको डुंगुर भन्दा फरक नपर्ला ।
अर्कोतर्फ कहीँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तै देशका प्रधानमन्त्री लगायतका नेता भनाउँदाहरू आफ्नै श्रीमतीलाई सांसद बनाउँछन् । हिजो राजाको शासन जहानिया भयो भनेर गणतन्त्रको लागि आन्दोलन गर्नेहरूले के को लागि आन्दोलन गरेका रहेछन् भन्ने कुरा प्रष्टै छ । स्वास्नी, छोराछोरी, ज्वाइँ, भाइ, भतिजा, तीनपुस्ता भित्रका आसेपासेहरूलाई सांसद र लाभको पद वितरण गर्ने नातावाद, कृपावाद र फरियावाद नै गणतन्त्रको विशेषता रहेछ भन्ने कुरा नेपालको गणतन्त्रले सावित गरिदिएको छ ।
फोहोर खाने सुँगुरहरुको न त कुनै सिद्धान्त, न विचारधारा न विधि न कुनै प्रकृया हुन्छ । जुन सँगुरले पहिले गएर फोहोरमा थुतुनो गाड्यो उसैले पेट भर्यो भनेजस्तै नेपालको राजनीति फोहोरको डुंगुर र यहाँका अधिकांश कार्यकर्ता र नेताहरूले आफूलाई विना लाजशर्म सुँगुरमा परिणत गरिरहेका छन् । यिनलाई मत दिएर जिताउनेहरु त्यसमा खुसियाली व्यक्त गर्दै शुभकामना दिइरहनुले अब देशमा मतदाता सुँगुरहरुको पनि ठूलै जमात बन्दै गएको देखिन्छ । पोथि सुँगुरलाई अङ्ग्रेजीमा Swine भनिन्छ । त्यसैले सुँगुरहरुलाई लाग्ने रुघालाई Swine Flu भनिएको हो । मानिसमा यो Flu सर्ने अवस्था भनेको कोरोना जस्तै महामारीकै अवस्था हो ।
यसरी हेर्दा नेपाल भन्ने देश कुनै दिन रहेन भने त्यसको मुख्य कारण यही Swine Flu हुन सक्छ । यस देशको राजनीतिले देशका नदीनालालाई ढलमा परिणत गरेकै छ । फोहोरका डुँगुरहरुले राजधानी लगायतका शहरहरू डुङडुङती गन्हाइ नै रहेका हुन्छन भने देशको राजनीतिमा सुंगुरहरु स्थापित हुनुलाई स्वभाविक नै मान्नु पर्दछ । त्यसैले नेता सुंगुरका पछाडि दगुर्ने कार्यकर्ता र मतदाता सँगुरहरुको संख्या बढ्नुलाई अन्यथा लिन मिल्दैन । फोहोरको डुंगुरमाथि सुंगुरहरुको हालिमुहाली हुनु स्वभाविकै हो ।