प्रदूषित वातावरण सुधार्ने प्रयास

वायु प्रदूषण कम गर्न बेलाबेलामा आवाज उठे पनि त्यसका निम्ति भरपर्दो गरी काम गरेको देखिएको छैन । यहाँको हावा स्वास्थ्य मापदण्डअनुकूल नभएकोप्रति निरन्तर आवाज स्वास्थ्यविदहरुले उठ्दै आएका छन्  । विश्व स्वास्थ्य सङ्गठनले तोकिदिएको मापदण्ड भन्दा निकै खराब अवस्थामा हामी रहेका छौँ  । जनस्वास्थ्यका हिसाबले वायु प्रदूषण मापक सूचकांक (एक्युआइ) शून्यदेखि ५० सम्म रहँदा स्वस्थकर मानिन्छ । ५१ देखि १०० सम्मको अवस्थालाई मध्यम तह मानिन्छ । हावाको गुणस्तर मध्यम तहमा पुग्नासाथ संवेदनशील व्यक्तिहरूले घरबाहिरका गतिविधि कम गर्नुपर्ने अवस्था रहन्छ । अहिले नै राजधानी काठमाडौँ उपत्यका र देशका अन्य कतिपय सहरको अवस्था जनस्वास्थ्यका लागि गम्भीर बनिसकेका छन् ।

वन तथा वातावरण विभागले सवारी प्रदूषण कम गर्न र खुलारूपमा फोहोर नजलाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ  । सूचनामा हिउँदको मौसममा उपत्यकालगायत देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रँदै गएको स्वीकार गरिएको छ । सरकारले सूचना जारी गरेर यति भनिदिदा पनि स्वच्छ हावामा सास फेर्न रहर गर्ने सर्वसाधारणमाथि ठूलो उत्साह थपिएको छ । सूचनाअनुसार अब सवारीधनीले प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र सवारी चलाउनुपर्नेछ । वायु प्रदूषणको प्रमुख कारक धुवाँ र खुलारूपमा जलाउने फोहोर रहेको विभागले जनाएको छ ।

विभागले गाडीको धुवाँ निष्कासन स्थितिको परीक्षणलाई प्रभावकारी बनाउने दाबी गरेको छ । सवारी प्रदूषण जाँचको स्टिकर बर्सेनि परीक्षणमा जानेले मात्र लगाएको पाइन्छ  । अझ कतिपयले परीक्षणसमेत नगरी स्टिकर पाएको स्थिति पनि छ । अहिलेसम्म मर्मत गरी सवारीलाई दुरुस्त राख्न दिने गरेकामा अब पुस १ देखि विभागको परीक्षणमा पास हुन नसक्ने गाडीलाई एक लाख रुपियाँसम्म जरिवाना गर्ने भनिएको छ । तर प्रदूषित हुने अवस्था के–केले सिर्जना गरेको छ भन्नेतिर पनि ध्यान पुग्नु उचित हुन्छ । यहाँ बिक्री हुने पेट्रोलियम पदार्थको गुणस्तरको अवस्था के छ ? त्यतातिर विचार गरिएको छैन ?

प्रदूषण जाँचपास गर्दा उत्तीर्ण हुन नसक्ने सवारी साधनलाई वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ अनुसार जरिवाना हुने भनिएको छ । छड्के जाँचमा प्रदूषण जाँचपासका रूपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि अनुत्तीर्ण हुने गाडीलाई एक लाख रुपियाँसम्म जरिवाना गरिने विभागको दाबी रहेको छ । विभागले टोल छिमेकमा कसैले खुलारूपमा फोहोर जलाउने गरेको पाएमा गोप्यरूपमा जानकारी दिनसमेत आग्रह गरेको छ । सबै भन्दा पहिले जथाभावी फोहोर जलाउन हुँदैन भन्ने चेतनाको सन्देश दिन पनि विभाग तत्पर हुनुपर्छ । जरिवाना गरेर मात्र सुधार गर्न सकिन्छ भन्ने होइन । जरिवानाले सर्वसाधारणलाई सजग हुन बाध्य पार्छ । तर त्यो भन्दा अघि यस्तो काम गर्नुहुँदैन भनी व्यापक प्रचारप्रसार गर्नतिर लाग्नुपर्छ ।

अहिले प्रमुख प्रदूषकका रूपमा सवारीको धुवाँ र खुलारूपमा फोहोर जलाउने कार्यलाई लिइएको छ । राजधानी काठमाडौँको प्रमुख समस्या भनेको यहाँको कहिल्यै नटुंगिने निर्माण कार्य पनि हो । कुनै पनि सडक वा अन्य निर्माणकार्य कति समयमा सम्पन्न हुने ? त्यसको सीमा नतोकिँदा त्यसबाट निरन्तर उडिरहेको धुलोले समेत यहाँ आक्रान्त तुल्याएको छ । धुलोका कारण निरन्तर समस्यामा परेका बासिन्दा यहाँ छन् । प्रदूषणको कारण स्थानीय मात्र छैन । यो अन्तर्राष्ट्रिय गतिविधिको समेत अंग बनेको छ । त्यसैले प्रदूषण कसरी घटाउन सकिन्छ भनी रणनीति बनाउनु पनि उत्तिकै आवश्यक छ ।

विद्युतीय सवारी सञ्चालन र विस्तारै जैविक इन्धनको प्रयोग कम गर्ने उपायतिर मुलुक नगई सुख छैन । आज हाइड्रोजनबाट हवाईजहाजसमेत चलाउने गरी अनुसन्धान र अन्वेषण भइरहेका छन् । सकेसम्म कार्बन उत्सर्जन कम गर्ने प्रयास दुनियाँमा भइरहेका छन् । तर हामीले जैविक इन्धन उपभोग कम गर्नेतिर ध्यान दिएका छैनौँ । जैविक इन्धन प्रयोग गर्ने सवारीलाई समेत विद्युतीय बनाउनतिर सरकारको ध्यान पुग्नुपर्छ । त्यसो भयो भने क्रमशः वातावरण सुधार हुँदै जानेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज