अंग्रेजी शब्द डाइलुटको अर्थ घोलिँदा पातलो हुने भन्ने बुझाउँछ । निलो आगो बल्ने शुद्ध रक्सी पिउन नसक्नेहरुले त्यो रक्सीमा पानी मिसाई डाइलुट गरी पिउँछन् । नेपाली राजनीतिमा डाइलुट राष्ट्रिय संस्कार बनेको छ । त्यसैले राजनीतिक व्यवस्था परिवर्तन हुँदा पनि नेताहरु पुरानै भ्रष्टाचारी, राष्ट्रघाती अनि असक्षमताको झोलमा डाइलुट हुन पुग्दा जनताको अवस्थामा कहिले परिवर्तन आएन ।
४६ सालमा पंचायती राजनीतिक ब्यवस्था ढल्यो तर पंचायतले खडा गरेको, लगाएको, अह्राएको काम गर्ने सामन्ती प्रशासनिक व्यवस्थामा परिवर्तन भएन । त्यसको फलस्वरुप नेताहरुलाई क्रमशः भ्रष्टाचार र राष्ट्रघातमा डाइलुट हुनबाट रोक्न पंचायती प्रशासन ब्यवस्थाले चाहेन, सकेन । त्यसैले गर्दा भ्रष्टाचारले छुन नसक्ने नयाँ राजाको रुपमा कांग्रेस, एमाले र माओवादीका नेताहरु उदाए । उदाहरण सर्वोच्च अदालतले टनकपुर सहमति होइन सम्झौता हो भन्दा र शाही नेपाल वायुसेवालाई क्षतिग्रस्त बनाउने धमिजाकाण्डका नायक गिरिजालाई सूर्यनाथको अख्तियारले कारवाही नगरी सचेत गराउँदा गिरिजाले नैतिकताको आधारमा राजिनामा नदिएपछि राष्ट्रघात र भ्रष्टाचारले उच्च तहका नेतालाई नछुने संस्थागत नजिर कायम भयो ।
यसरी प्रजातन्त्रमा नयाँ राजाहरु कारवाहीमा नपर्ने भएपछि उनीहरु एकपछि अर्को गर्दै राष्ट्रघात, भ्रष्टाचार र असक्षमतामा डाइलुट हुँदै जाँदा आज देशको स्वतन्त्रता धरापमा र अर्थतन्त्र कोलाप्स हुने अवस्थामा पुगेको छ । यस्तो अवस्थाबाट देशलाई कसरी जोगाउने, भ्रष्ट र राष्ट्रघाती नेताहरुलाई कसरी ठीक गर्ने ? चुनावको माध्यमबाट कि भूमिगत कारवाहीको माध्यमबाट ? चुनावको माध्यमबाट ठीक गर्छु भन्नेहरुले दुइवटा ‘र’ रवी र राजेन्द्र लिङ्देनलाई दलबलसहित संसदमा पठाएका छन् । एउटा सरकारमै सामेल भएको छ अर्कोले सरकारमा जाने तयारी गर्दै छ ।
नेपालमा भारत कम्फर्ट सरकार बनाउँदा मात्र काम गर्न सजिलो हुन्छ भन्ने प्रचण्डले प्रधानमन्त्रीमा नियुक्त भएपछिको पहिलो अन्तर्वार्ता भारतीय मेडियालाई दिई राष्ट्रघाती अभिव्यक्ति दिनुले चीनले दुर्ई कम्युुनिस्ट पार्टीहरुलाई मिलाएको भन्नेहरुको मुखमा बुजो लगाइदिएको छ । रसुवाको नाका खोलेको सन्दर्भलाई पनि यसैसँग जोडी चीनलाई नेपालको फोहोरी राजनीतिमा संलग्न गराउन खोज्नेहरुले के बुझनु जरुरी छ भने चीनको विदेश विभागले औपचारिक रुपमै नेपालका सत्तारुढ कम्युनिस्ट पार्टीहरु युएस इन्डो अमेरिकन वेस्ट याने रअ र सिआईएका कर्मचारीहरु भनिसकेको छ ।
हिजोको माओवादी जनयुद्ध अनि आजको सत्तारुढ कम्युनिस्टहरुको राजनीति भारतबाट संचालित छ अनि अमेरिका त्यही भारतीय चस्माले नेपाललाई हेर्छ भन्ने कुरा घामजस्तै छर्लंग भइसकेको सन्दर्भमा यस्ता विदेशी दलालकोे नेतृत्वको सरकारलाई समर्थन गर्नु, सरकारमा सहभागी हुनु भनेको सोझो अर्थमा राष्ट्रघात, भ्रष्टाचार र असक्षमतामा आफूलाई डाइलुट गर्नु हो । के यो कुरा यी दुइ ‘र’ लाई पत्तो नभएको त अवश्य होइन होला ? त्यसो हो भने चुनाव वहिष्कार गर्नेहरु सबै एकबद्ध भई अब सत्तामा बस्ने र नबसी सहयोग गर्ने नवविदेशी दलाल राष्ट्रघातीहरुलाई जहाँ भेट्यो त्यहीं कारवाही गर्ने बेला आएको छ ।
रवी र राजेन्द्र पुरानै राजनीतिक संस्कारमा डाइलुट हुन खोजेकै हुन् त ? यस प्रश्नको जवाफ खोज्न अब धेरै दिन कुर्नु नपर्ला किनकी यिनीहरुको जिब्रो लटपटिन र खुट्टा लड्खडिन सुरु भइसकेको छ । नयाँ जोगीहरुले झन् धेरै खरानी घस्छन् भन्ने कुरा रवि र राजेन्द्रले प्रमाणित नगरुन्, डाइलुट हुन नखोजुन् अन्यथा अब हुने विशुद्ध राष्ट्रवादी आन्दोलनले तिमीहरुलाई ध्वस्त गर्ने छ ।