मैले देखेको पहिलो विश्व आश्चर्यः रोमको कोलोस्सियम

सन् १९८५ को अक्टोबर महिना मेरो लागि खुसीको महिना थियो । किनकी त्यसै महिना मलाई इटालियन सरकारको छात्रवृत्तिमा इटालीमा संगठन र व्यवस्थापनसम्बन्धी उच्च अध्ययन गर्न जाने मौका मिल्यो । एक त जिन्दगीमा पहिलो पटक युरोपेली देश जान पाएको झन् त्यसमाथि रोमन सभ्यताको केन्द्रबिन्दु रहेको देश इटाली पुग्न पाउँदा मलाई सगरमाथा चढेको जस्तो अनुभव भइरहेको थियो । त्यस देशमा पुगेपछि त्यो कुरा पनि मलाई थाहा भयो कि त्यहाँ मानव निर्मित विश्वका दुई आश्चर्य रोमको कोलोस्सियमपिसाको ढल्केको टावर रहेछ भन्ने कुरा । त्यस कुराले मलाई निकै रोमाञ्चित बनायो र आफूलाई निकै भाग्यशाली सम्झेँ ।

पहिलो शैक्षिक वर्ष सन् १९८५।८६ मा म दक्षिणी इटालीको रेज्जो कालाव्रियाको विश्वविद्यालयमा अध्ययनरत भए पनि दोस्रो शैक्षिक वर्ष सन् १९८६।८७ म रोममा नै बसी अध्ययन गर्न पाएँ जसले कोलोस्सियमसँगको मेरो घनिष्टता निकै बढाएको थियो । सन् ८७ को अक्टोबरमा रोम छाडेपछि मैले सोचेको थिएँ फेरि कोलोस्सियम सायद देख्न पाइन्न होला भनेर । तर इटालियन भाषाको प्रशिक्षक प्रशिक्षणको लागि सन् १९९२ मा पुनः इटली जाने अवसर मिल्यो र कोलोस्सियमसँग मेरो दोस्रो जम्काभेट हुन गयो । तेस्रो पटक चाहिँ सन् २०१४ मा पोर्चुगलमा भएको रोटरी इन्टरनेसनल कन्भेन्सनमा भाग लिई स्वीट्जरलैण्ड जाने क्रममा मित्र कृष्णराज दुलालको साथ म पुनः रोम पुगेँ र कोलोस्सियमसँगको आफ्नो मित्रता नवीकरण गर्न पाए ।

रोमको कोलोस्सियम निर्माण, उद्घाटन र जिर्णोद्धार
कोलोस्सियम याने नाच, नाटक, सर्कस तथा खेलकुद प्रदर्शन गर्ने रङ्गशालाको निर्माण इटालीका तत्कालीन राजा निरोको सहरको केन्द्रबिन्दुमा भएको थियो जहाँ पहिले घना वस्ती थियो र इशापूर्व ६४ ताका भएको ठूलो आगलागीबाट ध्वस्त भएको थियो । त्यही स्थलमा सम्राट भेस्पियनले ठूलो कोलोस्सियम निर्माण गर्न लगाए । यस कार्यका लागि एक लाख यहुदीहरुलाई रोम ल्याइएको थियो । दासको रुपमा ल्याइएका यी यहुदीहरुले रोमबाट २० माइल टाढा तिभोली भन्ने स्थानमा रहेको ढुंगा खानीबाट कोलोस्सियमको लागि चाहिने ढुगा ल्याउँथे । निर्माण गर्ने कार्य भने रोमन दक्ष कामदार, कलाकार र इन्जिनियरहरूले गरेका थिए । यस कोलोस्सियमको निर्माण कार्य सन् ७३ मा सुरु भई सन् ७९ मा सम्राट भेस्पियनको मृत्यु हुँदा तीनतलासम्मको निर्माण कार्य सम्पन्न भइसकेको थियो । अन्तिम तलाको निर्माण कार्य भेस्पियनका छोरा तितुसले सन् ८० मा सम्पन्न गरी पहिलो खेलकुद तथा सर्कस त्यसै कोलोस्सियममा सन् ८१ मा आयोजना गर्न लगाएका थिए । त्यो खेल उत्सवलाई ऐतिहासिक बनाउन ९००० जंगली जनावरको बली चढाइएको थियो भने नयाँ सिक्का पनि प्रचलनमा ल्याइएको थियो । फेरि भेस्पियनका कान्छा छोरा रोमको सम्राट बनेपछि कोलोस्सियममा जमिनमुनिको तला बनाइ दासदासी र घरपालुवा जनावर राख्ने गरियो भने कोलोस्सियमको माथिल्लो तलामा ग्यालरी निर्माण गरी बढी मानिस अटाउने व्यवस्था समेत गरियो ।

सन् २१७ को ठूलो चट्याङको कारण भएको आगलागीले यो कोलोस्सियम नराम्ररी क्षतिग्रस्त हुन पुग्यो र सन् २४० सम्म यस्को जिर्णोद्धार हुन सकेन । तर सन् २५० देखि २५२ सम्म दुई वर्ष लगाई यसको जिर्णोद्धार गरिएको थियो अनि सन् ४४३ को अर्को भूकम्पले यसलाई पुनः क्षतिग्रस्त बनाएपछि सन् ४८४ देखि २१ वर्ष लगाएर यसको पुनः जिर्णोद्धार गरियो । विशेष गरी प्रतिष्पर्धात्मक खेलकुद र सर्कस देखाउने कार्यमा यसको प्रयोगले पुनः निरन्तरता पायो । १२ औं शताब्दितिर आएर १२०० फ्रान्जिपानी परिवारले यस कोलोस्सियमलाई कब्जा गरी किल्लाले घेरेर दरबार (क्यासल) को रुपमा प्रयोग गरे । तत्पश्चात् सन् १३४९ को महाभूकम्पले पुनः यस कोलोस्सियमको दाक्षिणी भागलाई तहसनहस गर्‍यो । यद्यपि कोलोस्सियमको उत्तरी भाग भने प्रयोगमा आइरह्यो । १६ औं र १७ औं शताब्दीतिर आएर यस कोलोस्सियमलाई घरेलु औद्योगिकस्थलको रुपमा प्रयोग गरियो । पोप सिक्तुस पाचौंले त्यहाँ रोमका वेश्याहरुलाई लगी ऊन कात्ने काम गर्न लगाएका थिए । सन् १६७१ मा भने कार्डिनल आल्टेयरीले कोलोस्सियममा साँढे जुधाउने खेल प्रदर्शन गर्न अनुमति दिएका थिए ।

क्रिश्चियन धर्मावलम्वीहरुले धर्मको लागि ज्यान अर्पण गर्ने शहिदहरुको स्मारकको रुपमा पनि यस कोलोस्सियमलाई लिने परम्परा रहेकै कारण पछि पछिका पोपहरुले भने यस कोलोस्सियमलाई जिर्णोद्धार गर्दै पवित्रस्थलको रुपमा विकास गर्दै लगे । अहिले यो कोलोस्सियम रोमको सबैभन्दा ठूलो पयर्टक आर्कषणको केन्द्र विन्दु भएको छ । यहाँ वर्षको २० लाखभन्दा बढी पर्यटकहरु आउँछन् । सन् १९९३ देखि २००० सम्म आइपुग्दा यस कोलोस्सियमको जिर्णोद्धार कार्य गर्नमात्रै १ करोड ९३ लाख डलर खर्च भइसकेको थियो । यद्यपि भग्नावशेषको रुपमा देखिने भएको हुँदा यस कोलोस्सियममा ठूला ठूला कार्यक्रमहरु आयोजना गरिँदैनन् । तर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संगीत कार्यक्रमहरु (कन्सर्ट) को आयोजना भने झण्डै हरेक वर्ष यहाँ हुने गर्दछ । यस कोलोस्सियममा ८७००० दर्शक अटाउँछ यद्यपि हाल भने ५०००० दर्शकभन्दा बढीलाई प्रयोग गर्ने अनुमति दिइँदैन ।

पहिले पहिले सम्राट र उसका परिवार र पछि धेरै महत्वपूर्ण व्यक्तिहरुको लागि भनी बेग्ले ढुंगे केविनको ब्यवस्था पनि यस कोलोस्सियमभित्र रहेको थियो । तलतलको तला धनी दर्शकवर्ग र जति माथिको तला गयो उति गरिब दर्शकहरुको लागि छुट्याइने गरिन्थ्यो । माथिका तला प्रयोग गर्ने गरिब दर्शकहरुले कि त ढुंगामा बस्नुपथ्र्यो कि त चकटी आफूले नै लिएर जानुपर्थ्यो ।मध्यकालीन विश्को आश्चर्यमध्ये एक मानिने यस कोलोस्सियम १५६ मिटर चौडा, २४००० वर्गमिटरको क्षेत्रफलमा फैलिएको, ४८ मिटर उचाइ र ५४५ मिटरको गोलाइ रहेको छ । ५ मिटर पर्खालले घेरिएको कोलोस्सियमको केन्द्रको भाग ८७ मिटर गोलाइ र ५५ मिटर चौडाइको अण्डाकार रहेको छ । कोलोस्सियमको बाहिरपट्टिको भित्ता १ लाख क्युविक मिटरको रहेको छ र विना वज्र (सिमेन्ट जस्तो सेतो जोडने वस्तु ) निर्माण गरिएको छ ।

 

(यो लेख ढकालको प्रकाशोन्मुख कृति विश्व आश्चार्य, विश्व सम्पदा र विश्व महत्वपूर्ण स्थल र म बाट साभार गरिएको हो । -सम्पादक) 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज