मैले देखेको तेस्रो विश्व आश्चर्य: पेरिसको आइफिल टावर

सन् १९८५/८७ को इटलीको अध्ययन क्रममा मलाई फ्रान्स जाने अनौठो मौका मिल्यो । सामान्य प्रशासन मन्त्रालयमा काम गर्दा म प्रशासन पत्रिकाको सम्पादक मण्डलको सदस्य सचिव भएर काम गर्नु पर्दथ्यो । त्यो सम्पादक मण्डलको अध्यक्षमा सहसचिव डिल्लीराज उप्रेती हुनुहुन्थ्यो । सोही कारण मैले उहाँकै निर्देशनमा बसी कार्य गरी वर्षको ४ अंक प्रशासन पत्रिका निकाल्नुपर्ने हुँदा मन्त्रालयमा मेरो दिनहुँ उहाँसँग भेट हुनु स्वभाविकै थियो । पछि सन् १९८५ को सुरुमा नै उहाँ फ्रान्सको लागि आवासीय राजदुत भई पेरिस पुग्नुभएको थियो ।

अहिलेको जस्तो इमेल, भाइवर तथा सजिलै गर्न सकिने अन्तर्राष्ट्रिय कल त्यतिखेर थिएन । हुलाकको भर पर्नु पर्दथ्यो । म इटली आइसकेपछि मैले उहाँलाई पत्र लेखी आफूलाई फ्रान्स हेर्ने रहर भएको बताएको थिएँ । पहिलो वर्ष राजधानी रोममा नभई हाम्रो पढाइ इटलीको सुदूर दक्षिणको सहर रेज्जो कालाव्रियाको जनप्रशासन स्कुलमा भएको हुँदा राजधानी रोम गई भीसा लिएर पेरिस जान त्यति सहज थिएन । दोस्रो वर्ष जब म रोमको जनप्रशासन स्कुल आएँ फेरि मैले उहाँलाई पत्र लेखेँ । मैले आशा गरे जस्तै उहाँले रोमस्थित फ्रान्स दुतावासमा एक पत्र लेखिदिनु भयो र त्यही लिएर म भीसा माग्न पुँगे र मलाई भीसा दिइयो । म सन् १९८६ को डिसेम्बर महिनामा क्रिसमसको विदाको मौका पारेर रोमबाट रेल चढी पेरिस हानिएँ । दुतावासमा बस्न पाइएला नपाइएला भन्ने डरले गर्दा पेरिस पुग्नासाथ पहिले युथ होस्टलमा गई आफ्नो ब्याग (रुकस्याक) राखी म नेपाली दुतावास खोज्नतर्फ लागेँ । हातमा नक्सा लिँदै हेर्दै बाटो पहिल्याउँदै जाँदा युथ होस्टलबाट ४५ मिनेटको हिँडाइमा म दुतावास पुगेँ र उप्रेती सरलाई आफू आइपुगेको जनाउ दिएँ । उहाँ आफैं बाहिर निस्कनुभयो र खोई त ब्याग ल घर जाउ भन्नुभयो । मैले ब्याग त युथ होस्टलमा छ भनेपछि उहाँले मलाई गाली गर्दै मकहाँ आएर पनि युथ होस्टल जाने हो त जाउ ब्याग लिएर आउ भनेर आफ्नो ड्राइभर पठाइ दिनुभयो । ब्याग लिन जानुअघि केही खाएको छ कि छैन ? भनेर सोध्नुभयो । म त रातिको ट्रेन चढेर भर्खरै आइपुगेको भनेपछि दुतावासको भुइँतलामा रहेको चिया पसलमा उहाँले मलाई ठूलो एक कप दूध चिनी हालेको कफी र क्रोसन खुवाउनुभयो । त्यसपछि म ब्याग लिई राजदुत निवास पुगेँ । त्यहाँ मेरो लागि एक कोठाको ब्यवस्था भएको रहेछ । त्यहाँ ब्याग राखी खाना खाई हातमा पेरिस सहरको नक्सा लिएर म पेरिस सहर घुम्न निस्किएँ । पहिलो गन्तब्य मेरो आइफिल टावर थियो । १५ फ्रेन्च फ्र्यान्क तिरेर लिफ्टबाट म आइफिल टावरको टुप्पामा पुगी त्यहाँबाट पेरिस सहर अवलोकन गरेँ । २० मिनेट जति माथि बसी म तल ओर्लें र टावरलाई चारैतिरबाट हेरेँ । विश्वको आश्चर्य मानिने पेरिसको टावर पनि देख्न पाउँदा आफ्नो भाग्य र उप्रेती सर दुवैलाई मनमनै धन्यवाद दिएँ ।

दोस्रो पटक जर्मनीमा पढ्दा बेलायत जाने क्रममा सन् १९८९ को मे महिनामा महिला मित्र मोनिका क्लेमस्टाइनसँग म पुनः पेरिस पुगेर आइफिल टावरसँगको आफ्नो परिचयलाई नवीकरण गरेको थिएँ । तेस्रो पटक भने पोर्चुगलमा सन् २०१४ मा भएको रोटरी इन्टरनेसनलको कन्फरेन्समा लिस्वन जाने क्रममा मित्र कृष्णराज दुलालसँगै हामी पेरिस पुगेका थियौँ । यस पटक पनि हामी अनन्य मित्र महामहिम राजदुत मोहनकृष्ण श्रेष्ठको आतिथ्यमा राजदुतकै निवासमा तीन दिन बसेका थियौँ । त्यही क्रममा मेरो आइफिल टावरसँग झण्डै २४ वर्षपछि पुनः सम्बन्धको नवीकरण भएको थियो ।

आइफिल टावरबारे

आइफिल टावर इन्जिनियर गुस्ताभ आइफिलको नामबाट राखिएको हो जसले यस टावरको डिजाइन र निर्माण गरेका थिए । यसको निर्माण सन् १८८७ बाट सुरु भई १८८९ मा सम्पन्न भएको थियो । फ्रान्सको राज्यक्रान्तिको १०० वर्ष पुगेको अवसरमा आयोजना भएको विश्व मेलाको अवसर पारेर यसको उद्घाटन भएको थियो । यो टावर विश्वका धेरै पर्यटकहरुले रुचाएको टावर हो । सन् २०१५ सम्ममा यो टावर चढ्ने पर्यटकहरुको संख्या ६० लाख ९१ हजार पुगिसकेको थियो । फ्रान्सको सांस्कृतिक निधिको रुपमा रहेको यो टावर विश्व आश्र्चयमध्ये एकमा गनिन्छ । यो टावर ३२४ मिटर अग्लो छ र पेरिसको सबैभन्दा अग्लो संरचनाभित्र पर्ने हुँदा यसको टुप्पाबाट पुरै पेरिसको अवलोकन गर्न सकिन्छ ।

निर्माण भएको ४१ वर्षसम्म यो विश्वको अग्लो टावर थियो । यो टावर ३ तला (लेभल) मा बनाइएको छ । पहिलो र दोस्रो तलामा पर्यटकहरुको लागि रेस्टुराँ रहेका छन् । माथिल्लो तला भने दृश्यावलोकनको लागि मात्रै प्रयोग गरिन्छ । लिफ्ट नचढी भर्‍याङबाट माथि टुप्पामा पुग्ने हो भने १७१० खुड्किला पार गर्नुपर्छ । तर सामान्यतया सबैले लिफ्ट नै प्रयोग गर्ने हुँदा भर्‍याङ प्रयोग गर्ने गरिँदैन । यस टावरको कुल इष्टिमेट लागत त्यसबेला ६५ लाख फ्रेन्च फ्रान्क थियो जसमध्ये १५ लाख निर्माणकर्ता इन्जिनियर आइफिलले आफैं ब्यहोरेका थिए ।

निर्माणको क्रम

टावरको जग हाल्ने कार्य २८ जनवरी १८८७ मा सुरु भएको थियो । टावरको चारैवटा खट्टा टेकाउने २ मिटरको क्रंक्रिट स्लावहरुलाई अडाउने १५ मिटर लामो, ६ मिटर गोलाई र २२ मिटर गहिरो सिमेन्ट फलाम र कंक्रिटको जग राखिएको छ । सिंगै स्टिलको टावरलाई थेग्ने कार्य यही जगले गरेको छ । यसको मुख्य संरचना निर्माण गर्ने कार्य मार्च १९८९ मा सकिएको थियो । त्यतिखेर माथिसम्म पुग्ने लिफ्ट बनिसकेको थिएन । पत्रकार र सरकारी कर्मचारीहरुलाई मात्र पहिलो पटक भर्‍याङ चढेर एक घण्टा लगाई टुप्पामा जान दिइएको थियो । पछि त्यही वर्षको मे महिनाबाट लिफ्ट पनि चल्न सुरु भयो । इन्जिनियर आइफिललाई फ्रान्स सरकारले निर्माण गरेको २० वर्षसम्म मात्रै टावर संचालनको अनुमति दिएको कारण सन् १९०९ मा यस टावरलाई भत्काउनुपर्ने भए तापनि आमसंचार र पर्यटन प्रवद्र्धनको उद्देश्य समेत जोडिएको हुँदा यसलाई भत्काइने योजना खारेज हुन पुग्यो । पछि यस टावरमा विभिन्न कार्यक्रम र परीक्षणहरु पनि भए । सन् १९१२ मा अष्ट्रियाका एक नागरिक फ्रान्ज राइखेल्टले प्यारासुट बनाई टावरबाट हामफाली परीक्षण गर्दा आफ्नो ज्यान गुमाएका थिए । प्रथम विश्व युद्धताका यस टावरमा जडान गरिएको शक्तिशाली रेडियो ट्रान्समिटरको कारण जर्मनहरुको रेडियोले काम नगर्दा पेरिस हान्न गएको जर्मन सेनाले मारने भन्ने ठाउँको पहिलो युद्धमा हार ब्यहोर्नु परेको थियो । पछि १९३५ मा यस टावरलाई २०० वाटको टेलिभिजन प्रसारण गर्ने टावरको रुपमा पनि प्रयोग गर्न थालियो । सन् १९३८ मा न्यूयोर्क सहरमा बनाइएको क्रिसलर भवनको कारण आइफिल टावरको विश्वकै अग्लो टावरको पहिचान गुम्न गएको थियो ।

सन् १९४० मा जर्मनहरुले पेरिस कब्जा गरेपछि फ्रेन्चहरुले लिफ्टको तार काटिदिए जस्को कारण जर्मन सैनिकहरु भर्‍याङबाटै टुप्पामा पुगी जर्मन झण्डा फहराएका थिए । यसैकारण हिटलरले पेरिसका गभर्नरलाई यो टावर तुरुन्तै ढाल्ने निर्देशन दिए तापनि उनले त्यसलाई अवज्ञा गरेको कारण टावर नासिनबाट जोगियो । टावर जोगिनुको अर्को कारण छोटो अवधिमा नै जर्मन सैनिकहरु पेरिसबाट लखेटिनु परेको कारणले पनि थियो । विश्व युद्धको कारण बिग्रेको टावरको मर्मत सन् १९५७ मा सम्पन्न हुनुअगावै १९५६ देखि नै यस टावरबाट पुनः टेलिभिजन प्रसारण सुरु गरिएको थियो । पछि फ्रान्सका राष्ट्रपति चाल्र्स दे गालको पालामा यस टावरलाई फुकालेर क्यानडाको मन्ट्रीयलमा लगेर जडान गर्ने सम्झौता भए तापनि सो सम्झौता कार्यान्वयन हुन नसक्दा आजको दिनसम्म आइफिल टावर पेरिसकै मध्यभागमा ठडिएको छ र प्रत्येक दिन विश्वबाट आउने लाखौं पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बनेको छ । हरेक सात वर्षमा यस स्टिलले बनेको टावरलाई रंग लगाउने कार्य गरिन्छ जस्को लागि ६० टन रङ आवश्यक पर्दछ । अहिलेसम्म गरी १९ पटक आइफिल टावरलाई रङ लगाउने कार्य गरिएको छ ।

(यो लेख ढकालको प्रकाशोन्मुख कृति विश्व आश्चार्य, विश्व सम्पदा र विश्व महत्वपूर्ण स्थल र म बाट साभार गरिएको हो ।)-सम्पादक 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज