देवघाट–वागीश्वरीको सम्पदा बचाऔं, धरतीमाताप्रति बफादार रहौं !

चितवन/ नवलपरासी र तनहुँ जिल्लाको सङ्गमस्थल देवघाट–वागीश्वरीको वनमा विदेशी नागरिकहरुद्वारा गैरकानुनी रुपले जङ्गल फँडानी गरी मेडिकल कलेज निर्माण गरिँदै छ । विकासको नाउँमा विनाश गर्ने यो कार्यको यहाँका पर्यावरण, धार्मिक र सामाजिक सङ्घसंस्थाहरुले सुरूदेखि नै विरोध गर्दै आएका हुन् । केही समययता उक्त प्रतिरोधी सङ्घर्ष व्यवस्थित रुपमा चलिरहेको छ, हस्ताक्षर कार्यक्रम भइरहेका छन् ।

देवघाट–वागीश्वरीको महङ्खव के छ ? के कारणले त्यसको सुरक्षाका लागि हजारौं मानिसहरु कुनै पनि मूल्य चुकाउन तत्पर भइरहेछन् ? देवघाट–वागीश्वरीको वन भनेको यस्तो प्राकृतिक जङ्गल हो, जसको निर्माण गर्न प्रकृतिलाई लाखौं वर्ष लाग्यो । हजारौंहजार वन्यजन्तु र पशुपक्षीहरुको वासस्थान सालको घना वन र अरु धेरै रुख वा बोटबिरूवाका साथै बहुमूल्य जडीबुटीहरुले ढाकिएको छ । त्यसैले यो स्थल असीमित र अमूल्य जैविक विविधताहरुको महान् भण्डार बनेको हो ।

नारायणी नदीको किनारमा अवस्थित देवघाट–वागीश्वरी क्षेत्र पुराताङ्खिवक सम्पदाले पनि भरिपूर्ण छ । यहाँ पुराना मूर्तिहरु, मन्दिरका गजुरहरु, कुँदेका ढुङ्गापत्थरहरु, सुरूङ, इनारजस्ता प्रागैतिहासिक मानवसभ्यताका महङ्खवपूर्ण अवशेषहरु प्रशस्त भेटिएका छन् । त्यसैले यस ठाउँलाई पुराताङ्खिवक अध्ययनको केन्द्रको रुपमा विकास गर्न सकिन्छ । यस्ता सामाजिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु आजको राष्ट्रिय आवश्यकता पनि हो ।

देवघाट–वागीश्वरी नेपालकै गरिमामय धार्मिक तथा आध्यात्मिक क्षेत्र हो । यो प्राचीन ऋषिमुनिहरुले ज्ञानआर्जन गरेको पवित्र थलो हो र आजका थुप्रै योगी, माईमहात्मा, साधुसन्तहरुको आश्रम पनि हो । सयौं–हजारौं मिल टाढादेखि हिन्दूहरु यहाँ एउटा आस्था बाकेर दर्शन गर्न आउँछन् र आध्यात्मिक अनुभूति लिएर फर्कन्छन् । सबै मानिसको आस्था र विश्वासको केन्द्र एउटै कुरामा नहुन सक्छ र आध्यात्मिक अनुभूति पनि । महङ्खवपूर्ण कुरा के हो भने कसैले पनि कसैको आस्था र विश्वास ध्वस्त गर्नु हुँदैन तर हिन्दूहरुको आस्थाको केन्द्र देवघाटमा बन्ने मेडिकल कलेजले कालान्तरमा त्यो विश्वासलाई अवमूल्यन र विध्वंस गर्न सक्छ ।

वागीश्वरीमा बन्ने मेडिकल कलेजमा झन्डै ८ हजार मानिसहरु रहनेछन् । उनीहरुबाट दैनिक ८० क्विन्टल मलमूत्र, अस्पताल र कलेजमा प्रयोगमा आउने अनेकौं घातक रसायन, शव र अन्य धेरै सडेगलेको फोहोर नारायणी नदीमा जानेछ । त्यसपछि पवित्र नारायणी काठमाडौंको बाग्मतीझैं अत्यन्तै प्रदूषित बन्नेछ र विशाल भएर पनि नारायणी नदीको पानी पिउन, स्नान गर्नसमेत अयोग्य हुनेछ ।

वागीश्वरी वन मासेर विदेशीहरु बसेपछि नेपाली नागरिकहरु किन नबस्ने ? गम्भीर प्रश्न उठ्नेछ र देवघाटदेखि रामनगरसम्मको वन विनाश हुन सक्छ । यसो भएमा भूक्षय तीव्र हुनेछ र नारायणगढ बजार अरु खतरामा पर्नेछ । त्यसै गरी अत्यावश्यक ठाउँहरुमा पक्का तटबन्ध र स्पर्क (चेक ड्याम्प) हरु निर्माण नगर्ने हो भने यही आउँदो केही दशकभित्र नारायणी नदीको बाढीको मुस्लोले नारायणगढ बजारलाई विनाश गर्न सक्छ र पश्चिम चितवनसमेत जलमग्न बनी यहाँ प्रलय छाउन सक्छ तसर्थ घटना घट्नुअगावै सचेत बनौं ।

अमेरिकामा रहने भारतीय आप्रवासीहरुले निर्माण गर्ने यस मेडिकल कलेजको मूल उद्देश्य धनआर्जन गर्नु हो । त्यसैले ‘भारतीय चिकित्सा परिषद्’ ले उनीहरुलाई त्यहाँ बस्न दिएन तर नेपालमा उनीहरु सफल भए । यसको कारण हो यहाँका केही पहुँचवालाहरु पनि ती द्रव्य पिचासहरुका बसमा परे । उक्त मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालय र नेपाल चिकित्सा परिषद्ले मान्यता दिएको छैन । अझ विरोधसमेत जनाएको छ तर शिक्षा तथा संस्कृति मन्त्रीले मेडिकल कलेज निर्माण गर्न जुन स्वीकृति दियो, त्यो प्रक्रियागत गल्ती मात्र नभई तानाशाही र बदनीयतपूर्ण निर्णय हो । यस्तो निर्णय कुनै पनि राष्ट्रवादी र स्वाभिमानी नेपालीको संवेदनामाथिको प्रहार हो ।

हामी मेडिकल कलेजका विरोधी होइनौं । पर्यावरण (मूलतः प्राकृतिक वन र नदी) लाई दखल नपु¥याउने गरी चितवन तथा अन्य कुनै पनि ठाउँमा मेडिकल कलेज रहन सक्छ । त्रिभुवन विश्वविद्यालय र नेपाल चिकित्सक परिषद्को नीति, निर्देशनभित्र रहेर त्यसलाई खोल्न दिनुपर्छ तर पर्यावरणीय संरक्षण नहुने हो भने त्यस्तो मेडिकल कलेजलाई नेपालको कुनै पनि भूभागमा टेक्न, बस्न दिनु हुँदैन ।

आज जुन ठाउँमा मेडिकल कलेज खोलिँदै छ, त्यो घना जङ्गल क्षेत्र जैविक विविधता, धार्मिक, पुराताङ्खिवक, सांस्कृतिक र ऐतिहासिक संरचनाको विशिष्ट केन्द्र हो । देवघाट विकास गुरू योजना कार्यान्वयन गरी यसलाई एउटा विशिष्ट पर्यटन केन्द्रको रुपमा विकास गर्न सकिन्छ । यसैमा राष्ट्र, जनता र धरतीमाताको हित हुन्छ । यस मान्यतालाई स्थापित गर्न हामी सङ्घर्षरत छौं र अन्तिमसम्म रहनेछौं । यो सङ्घर्षको व्यापकताका लागि मुलुकभरिका पर्यावरणवादीहरु, धार्मिक, सामाजिक, प्रगतिशील, प्रजातान्त्रिक, स्वाभिमानी, देशभक्त र न्यायप्रेमी जनसमुदायसामु भौतिक र नैतिक सहयोग, समर्थन गरिदिनुहुन हामी हार्दिक आह्वान गर्दछौं ।
वागीश्वरीबाट मेडिकल कलेज— हट्नै पर्छ !
सम्पूर्ण धरतीप्रेमीहरुको एकता— अमर रहोस् !

(२०५१ भदौ १७ गते वागीश्वरी संरक्षण सङ्घर्ष समिति गठन भएपछि समितिका कार्यकारी डा. गोपी उप्रेती र यो पङ्क्तिकारलाई एउटा पर्चा तयार गर्न जिम्मा दिइयो । हामी दुवैले छुट्टाछुट्टै पर्चा तयार गरी अन्तमा दुवैका पर्चाबाट सार निकाली माथिको पर्चा तयार भयो— लेखक)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज