COI (Conflict of Interest) अर्थात् स्वार्थको द्वन्द्व नेपालीहरूको लागि कुनै नौलो शब्दावली होइन । चोरलाई साँचो सुम्पनु हुन्न अनि बिरालोलाई दूध हेर्ने जिम्मा दिन हुँदैन भन्थे हाम्रा पुर्खाहरूले । त्यस्तो भयो भने मालसमानको सुरक्षा हुँदैन भन्थे उनीहरु । दूधको साक्षी बिरालो र जो चोर उसैको ठूलो स्वर भनाइ पनि प्रचलित छ नेपाली भाषामा । भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हो भन्ने राप्रपाले सार्वजनिक निर्माण कार्य बेलैमा सम्पन्न गर्न नसक्ने, सम्पन्न भएको कामको पनि गुणस्तर नभएको भन्ने आरोप लागेको ठेकेदारलाई त्यसैसँग सम्बन्धित मन्त्रालयको जिम्मा दिएपछि उनीहरु आमाकै रगत खानको लागि भनेर सत्तामा पुग्न मरिहत्ते गरेको पुष्टि भएको छ ।
त्यस्तै नागरिकताको विवादमा परेका नव युवा रविलाई उपप्रधानमन्त्रीको दर्जासहित गृह मन्त्रालय अनि उनैको दलका अर्का विवादित म्यानपावर र रेमिटेन्स व्यवसायीलाई श्रम मन्त्रालय सुम्पिनुले जनताको अगाडि सुशासनको नारा दिएर चुनाव जित्नेहरुको निर्लज्ज पारा सुरुमै देखिएको छ । यसले गर्दा यिनीहरूको पहिलो गाँसमै झिँगा पर्न पुगेको छ । यिनीहरु चोर र बिरालो सावित हुन अब धेरै कुर्नु पर्दैन होला । सुशासनको पहिलो शर्त (Sine qua non for good governance)को ठाडो उल्लंघन प्रचण्डले जानी जानी गरेका हुन् किनकी उनी यिनीहरूलाई सकेसम्म चाँडो चोर र बिरालो सावित गर्न सके आफ्नो दलको राजनीतिक भविष्य सुनिश्चित हुने देख्छन् र यसैले उनले उनीहरूलाई ती मन्त्रालय सुम्पेका हुन् भन्दा फरक नपर्ला । यसो गर्दा तथाकथित परिवर्तनकामी मतदाताहरूले पनि लोप्पा भेट्ने अनुमान प्रचण्डले गरेका होलान् जुन स्वभाविक पनि हो । अनि त पाइहाल्यो नि भन्न जुन जोगी आए पनि कानै चिरेको ।
संयुक्त राष्ट्रसङ्घले सुशासनको पहिलो शर्त भनेको COI लाई त्यसैको सदस्य राष्ट्र नेपालले खिल्ली उडाउनुले नेपालको अन्तर्राष्ट्रिय छवि पनि नराम्ररी धमिलिएको छ अहिले । तर प्रचण्डलाई त्यसको के परवाह ? उनको लागि त जसरी भए पनि यी ठेट्नाहरुलाई सकेसम्म चाँडै नांगेझार बनाउनु न हो । यहाँनिर मूर्ख बन्ने त परिवर्तन चाहने अनि हो न हो लिंगदेन र रवीले के के न गर्छ भनेर मत दिई उनीहरुको दललाई राष्ट्रिय दलको दर्जामा पुर्याउने मतदाताहरु पो भए त । सरकार बनेको एक महिना भएको छैन अहिले नै यिनीहरूको जसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुन सुरु भएको छ त्यसले नेपालको प्रजातन्त्रमाथि नै प्रश्न नउठ्ला भन्न सकिन्न ।
हुन त विषयको ज्ञाता भनेर त्यस्ता व्यक्तिहरुलाई मन्त्री बनाइएको ठोकुवा गरिएको छ । सर्पको खुट्टा सर्पले मात्रै देख्छ भन्छन् । त्यसो हो भने यिनीहरूको खुट्टा मतदाताहरूले सजिलै देख्ने कुरा पनि त भएन नि । पुराना सर्पहरुले देशलाई बारम्बार डसेकै थिए अब नयाँहरुले पनि त्यतिकै डस्ने भए । फरक त्यति हो, चुनावले ल्याएको परिवर्तन यस्तै रहयो । के गर्ने त अब ? बिग्रेको देशको भत्केको चाला जजसले पाउला उसैले खाला, कसो ? कहाँको COI को कुरा उठाको भन्या ?