विश्व आश्चर्यहरु एकपछि अर्को गर्दै हेर्ने सौभाग्य मिलिरहेको परिप्रेक्ष्यमा चीनको लामो अनि ठूलो पर्खाल कहिले हेर्ने मौका मिल्ला भनेर म ढुकेर बसिरहेको थिए । बच्चा छँदा बुझने भएपछि मैले मुनामदन पढेको थिए पछि ठूलो भएपछि मुनामदन गीति नाटक हेरेपछि पैसा कमाउन जाने सुनको खानी ल्हासा कस्तो होला भन्ने जिज्ञासा पनि मेरो मनमा त्यतिकै थियो । झन त्यसमाथि वेजिंग ल्हासा रेल चलेको खवरले म भित्र झनै नयाँ कौतुहलता छायो । अनि मैले सोचे अव म एकै भ्रमणमा म चीनको ग्रेटवाल, वेजिंग ल्हासा रेल चढ्ने अनि ल्हासा हेर्ने काम सक्छु । अकस्मात् एक दिन मेरा अनन्य मित्र लिलामणि पौडेल ल्हासाको लागि नेपाली महावाणिज्यदूत भएको खवर पाए । म त्यतिखेर गलैँचा निकासीकर्ताको संघको कार्यकारी सल्लाहकार भएर काम गर्थे र त्यस जिम्मेवारी वहन गर्ने क्रममा वर्षको एकपटक कार्पेट जर्नल सम्पादकको रुपमा मैले नै निकाल्न पर्दथ्यो । त्यस जर्नलको तेश्रो अङ्कको लागि लेख माग्ने सन्दर्भमा तत्कालीन उद्योग वाणिज्य मन्त्रालयका सहसचिव लिलामणीजीसंग मेरो चिनजानी भएको थियो । आनाकानी नगरी वहाले लेख दिने वचन दिनु भयो । पछि लेख पनि छापियो । त्यही क्रममा वहासंग मेरो घनिष्टता बढेको थियो । त्यसताका भर्खर इमेल लेख्ने चलन चलेको थियो ।
मैले उहाँलाई इमेलबाट आफू ल्हासा आउन चाहेको बताएको थिए र उहाँले मेरो आग्रहलाई सहर्ष स्वीकार गरेपछि २००५ को सेप्टेम्बर महिना तिर मैले भ्रमणको योजना बनाए । जादा हवाईजहाजबाट ल्हासा हुँदै वेजिंग जाने अनि आउँदा रेलबाट वेजिंग ल्हासा भइ ल्हासाबाट खासा हुदै नेपाल फर्कने योजना बनाई म आठ सेप्टेम्बर २००५ मा एअर चाइनाको विमानबाट काठमाण्डौ ल्हासा, चंग्दु हुँदै बेजिंग पुगेको थिए । काठमाण्डौमा ल्हासाको उडान अवधि करिव डेढ घन्टाको थियो । मुख्यतया स्टिल र शिशा, आरसीसीको संरचनामा बनेको ल्हासा विमानस्थल अतिनै आधुनिक रहेछ । मैले सोचे भन्दा सोह्रै आना फरक । विमानस्थल तिब्बतमा भएको आधुनिक विकासको नमुना भन्दा फरक नपर्ने रहेछ । झन त्यसमाथि चंग्दुको अन्तराष्ट्रिय विमानस्थल युरोपको कुनै पनि विमानस्थल भन्दा तल्लो कोटिको मलाई लागेन । चीनको समय अनुसार राती १० वजे म वेजिंग ओर्लिए । वेजिंग विमानस्थल न्यूयोर्कको जोन अफ केनेडि विमानस्थल भन्दा पनि ब्यस्त र आधुनिक हो कि जस्तो मलाई लाग्यो । एक चिनिया महिला मित्र जोलिनले फोनको माध्यमबाट चंग्दु विमानस्थलबाटै मेरो लागि एक दुइतारे होटल वुक गरिदिएको हुनाले विमानस्थलबाट म सिधै सटलवस चढेर बेजिंगको शहरको केन्द्र तिर लागेको थिए ।
वसको सिटमा आफैसंग वस्ने अर्कि एक मेरै उमेरकी यी स्यूअ नाम गरेकी चिनिया महिलाले मलाई होटलसम्म पुराउन सहयोग गरिन । यस प्रकार राती ११ वजे म होटलमा पुगेको थिए । दैनिक २०० यूआन (त्यतिखेरको करिव रु १९५० ) तिर्नु पर्ने उक्त होटलमा व्रेकफास्टको वेग्लै ५ युआन (रु ४८) तिर्नु पर्ने रहेछ । जुन काठमाण्डौमा भन्दा कुनै हालतमा पनि मंहगो थिएन । अव बेजिंगमा हेनुपर्ने कुरा भनेको मेरो लागि ग्रेटवाल (चीनको पर्खाल ) थियो । खोज्दै जांदा म थिआनयानम्यान चोक तिर हानिए । चोकको दक्षिणपुर्वी कुनामा एक ट्राभल एजेन्ट रहेछ र त्यसैले मिनिवसमा ग्रेटवाल घुमाउन लग्दो रहेछ । उस्ले मसंग ग्रेटवाल साइट सिइंग टिकट भनी २०० यूआन माग्यो जवकी मैले पाएको सूचना अनुसार १६० यूआनमात्रै हुनु पर्ने थियो । मेलै १६० यूआन भन्दा वढी नतिर्ने अडान लिए पछि अत्यमा उस्ले १६० यूआनमानै मलाई टिकट दियो र वसले भोलीपल्ट आठ वजे होटलबाटै पिकअप गर्ने जानकारी मलाई गरायो । नभन्दै सेप्टेम्बर ३० को विहान पौने आठ वजे एक मिनिवस मेरो होटलको अगाडि आएर रोकियो । महिला गाइडले सकेत गरे अनुरुप म वस चढे । वसमा हामी नेपाल, भारत, इरान, अष्ट्रेलिया, पोलैण्ड, जर्मनी, पोर्चुगल र चीनको गरी १२ जना थियौ । वस आफ्नो गन्तब्य तर्फ अघि वढन लागे पछि हामीले एक अर्का संग परिचय गरी इमेलको आदान प्रदान गर्यौ । १२ जना मध्ये पोलैण्डकी एक महिला, अष्ट्रेलियाका एक जोडी र इरानकी एक महिला नेपाल आउन इच्छुक रहेछन । मैले उनीहरुलाई नेपाल आए सक्दो सहयोग गर्ने वचन दिए र इमेल संपर्कमा वस्न अनुरोघ गरे ।
हामीलाई ग्रेटवाल लग्ने भनिएता पनि बेजिंगमा रहेको वहुमूल्य पत्थर, रत्न जवाहरत वनाउने कारखाना, मिंग वशको राजाको चिहान, वेजिंगको रेशम उत्पादन कारखाना, र सरकारी चीया उद्योग पर्वध्दन केन्द्रको समेत अवलोकन गराउने कार्यक्रम रहेछ । यस क्रममा सवैभन्दा पहिले हामीले वहुमूल्य पत्थरको कारआना (Jade Factory) को अवलोकन गरयौ । कारखाना विशाल थियो । हामी जस्ता हजारौ पर्यटकहरूले त्यहा अवलोकन गर्न गई वहुमूल्य पत्थर कसरी वनाइन्छ भनेर आफनै आखाले हेर्न पाउदा रहेछन । पैशा मनग्गे वोकेर जानेहरूले किन्दा पनि रहेछन । त्यहा सबैभन्दा सस्तो भनेको ३०० यूआनको औंठिमा राख्न सकिने सानो पत्थर र मंहगोमा ५० हजार यूआन सम्म पर्ने पत्थर पनि हुंदा रहेछन । करिव ४५ मिनेट त्यस कारखानाको अवलोकन गरेपश्चात हामी मिंग वंशको चिहान हेर्ने तर्फ लाग्यौ र करिव आधा घन्टाको वसको सफरमा हामी घना धुपीको जंगलले ढाकिएको सानो पहाडको फेदीमा पुग्यौ । पेगोडा शैलीमा कलात्मक तरिकाले वनाइएको विशाल प्रवेशद्धार, त्यस पछिको विशाल सभाकक्ष अवलोकन गर्दे अर्को एक सानो कलात्मकद्धारबाट प्रवेश गरी अन्तिम मन्दिरको माथिल्लो तलामा मिग वंशका राजाको चिहान राखिएको रहेछ ।
आठ हजार रानी र पटरानी भएका राजाले आफनो सेवामा चुक्ने रानी पटरानीहरूलाई जिउदै खसाल्ने विशाल इनार मन्दिरको दोश्रो तलामा जाने वाटोमा रहेछ । सरकारद्धारा संरक्षण गरिएको त्यस क्षेत्रमा रहेका ३०० वर्ष सम्मका पुराना रुखमा हरियो र ३०० वर्ष भन्दा वढी पुराना रुखहरूमा रातो टांचा लगाइएको रहेछ । करिव एक घंटा जति त्यस क्षेत्रको अवलोकन गर्दा विहानको साढे ११ वजिसेकेको थियो र हामीलाइ अव दिउसोको खाना खान लग्ने र खाना खाइसकेपछि मात्रै ग्रेटवालको अवलोकनमा लग्ने जानकारी गराइयो । हामी सवैले सोचेका थियौ कि अव हामीलाई लंचको लागि कुनै रेष्टुरामा लगिन्छ होला भनेर तर हाम्रो अनुमान विपरित हामीलाई पुन अधिकै वहुमूल्य पत्थर कारखानाको क्याफेटेरियामा लगियो । त्यहा पुगेपछि वल्ल हामीले वुझयौ कि गाइडको माध्यमद्धारा त्यस कारखानामा समूहमा अवलोकन गर्न जाने कुनैपनि पाहुनाहरूको समूहलाई सित्तैमा लंच गराइने रहेछ यद्यपि अघिल्लो दिन टिकट किन्दा लंच टिकटमा नै समावेश भएको जानकारी गराइएको थियो । चिनियाहरूको वजार रणनीति (Marketing Strategy) देखेर हामी नतमस्तक भयौ यद्यपि हाम्रो समूहको दुइजनालेमात्र चिनोको रुपमा त्यहा केही कुरा खरिद गरेका थिए । दिउसोको खाना खाएपछि वल्ल हामी ग्रेटवाल पुग्यौ ।
ग्रेटवाल
चीनको ग्रेटवाल इटा, ढुंगा, वज्र अनि काठले बनेको पर्खालरुपी किल्ला हो । चीनको उत्तरी भागमा पूर्व देखि पश्चिमसम्म फैलिएको यो पर्खालको निर्माण इशा भन्दा सात शताब्दी अघिनै शुरु भएता पनि चीनलाई सन १३६८ देखि १६४४ सम्म राज्य गर्ने मिंग वंशको शासनकालमा यो पर्खालको निर्माणकार्य सम्पन्न भएको थियो । अन्तरिक्षबाट पृथ्विलाई हेर्दा सगरमाथा वाहेक देखिने कुरा भनेको यही पर्खालमात्रै भएको कारणले होला यसलाई मानव निर्मित विश्व आश्चर्यको वस्तु मानिएको छ । पुरातनकालमा यूरेसियाबाट आउने नोमाड याने घुमन्तेहरुको आक्रमणबाट चीनलाई सुरक्षा दिने उध्देश्यले किल्लाको रुपमा यो पर्खाल निर्माण भएको थियो । पछि सिल्करोडबाट आयात गरिने वस्तुको निगरानी, आप्रवाशीहरुको चिन प्रवेशमा नियन्त्रण गर्ने कार्यको लागि पनि यो पर्खालको प्रयोग हुने गर्दथ्यो । पछि सैनिकहरुले दुर निगरानी गर्ने टावरको रुपमा पनि यस पर्खाललाई प्रयोग गर्दथे ।
पूर्वबाट पश्चिम जानु पर्दा हिडने बाटोको रुपमा पनि चिनियाहरुले यसको प्रयोग गर्दथे । यो पर्खाल पूर्वमा तान्दोगबाट शुरु भइ पश्चिममा लोपतालमा गई यस्को अन्त्य हुन्छ । यसको कुल लम्वाई २१ हजार १९६ किलोमिटर रहेको छ । चिनियाहरु ८ देखि ५ इशापूर्वमानै पर्खाल वनाउने कलामा पोख्त थिए । छिन वशका सम्राट चंगले २२१ इशापूर्वमानै एक केन्द्रिकृत सामन्ती राज्यको रुपमा चीनको एकिकरण गर्ने क्रममा कतै उन्ले यस पर्खालका केही भाग भत्काएका थिए भने केही ठाउमा नया पर्खाल वनाएका पनि थिए । यस पर्खाल वनाउने क्रममा दशलाख चिनिया कामदारहरुले मृत्युवरण गरेका थिए ।
१४औ शताब्दीमा आएर मिंग वंशले यस पर्खाललाई पुनर्जीवन दिएका थिए । सन १६४४ यही पर्खाल पारगरी सफल आक्रमण गर्न सकेकै कारण मिंग वंश मंचु वंशद्धारा विस्थापन भएको थियो । चीनको भ्रमण गर्ने पहिलो यूरोपेली मार्कोपोलोले आफनो यात्रा वृतान्तमा यो पर्खालको वर्णन गरेका छन् । दोश्रो अफिम युध्दमा यूरोपेलीहरु संग चीनको हार भएपछि यो पर्खाल पर्यटकहरुको लागि खुला गरिएको थियो । वेजिंगको महानगरपालिका भित्र पर्ने यस पर्खालको केही अंश सबैभन्दा वढी प्रख्यात छ । यसैकारणले होला यस खण्डको नियमित जिणोध्दार गर्ने गरिन्छ र वेजिग आउने पर्यटकहरु पर्खाल हेर्न आउने स्थल पनि यहि हो पर्खालका अरु भागहरु पुरै जिर्णोध्दार भैनसकेको कारण कतैकतै भग्नावशेष जस्तो पनि देखिन्छ । यस पर्खालको औषत उचाई ७ दशमलव ८ मिटर र चौडाइ ५ मिटर रहेको छ ।
(यो लेख ढकालको प्रकाशोन्मुख कृति विश्व आश्चार्य, विश्व सम्पदा र विश्व महत्वपूर्ण स्थल र म बाट साभार गरिएको हो ।)-सम्पादक