नमच्चिने पिङको सय झड्का ?

राजतन्त्रमा राजा उनका परिवार, चौतरिया आदिले खाने भत्ता देशको अर्थतन्त्रले धान्न सक्दैन, कि त तलबभत्ता बेगरको नागरिक राजा हुनुपर्यो कि त सर्वसाधारणको छोरो सादगी राष्ट्रपति हुनुपर्यो भन्ने दुई सोचाइ अगाडि आए । जसमध्ये दोस्रो छनौटमा पर्दा देशबाट राजतन्त्र पलायन भयो । पहिलो राष्ट्रपति रामवरण यादवको तडकभडक त्यति नदेखिँदा उनको कार्यकालभरि राष्ट्रपति पद त्यति विवादित देखिएन । यद्यपि नेपाली जनताले देख्न चाहेको राष्ट्रपति भने पेन्सन नपाउने भूतपूर्व भएपछि आफ्नै पेसा व्यवसायमा फर्कने र झोला बोकेर आफ्नो घरायसी किनमेल आफैं गर्न डिपार्टमेन्टल स्टोर पुग्ने अमेरिकी राष्ट्रपति बाराक ओबामा जस्तै थिए ।
दोस्रो राष्ट्रपति विद्या भण्डारीको तडकभडक यति देखियो कि उनले राजतन्त्रका हुने तडकभडकलाई समेत माथ गरिदिइन् अनि जनताले उनको नाम गणतन्त्रकी महारानी राखिदिए । विद्याको यही तडकभडकको कारण अहिले गणतन्त्र नराम्ररी गन्हाउन मात्रै पुगेको छैन त्योभन्दा त बरु राजा नै वेश भन्नेहरूको संख्या दिनपरदिन बढ्दै गइरहेको छ ।

सरकारले मजदुरको न्यूनतम ज्याला हरेक वर्ष तोक्ने गर्दछ जसको आधार भनेको जीवन निर्वाहको सिद्धान्त (Subsistence Theory) हो । हाम्रो जस्तो गरिब देशले यदि विकास बजेटभन्दा साधारण बजेट बढी खर्च गर्ने हो भने समृद्धि नारामा मात्रै सीमित रहने छ । यदि साँच्चै गणतन्त्रलाई देशको आर्थिक अवस्थाले धान्ने बनाउने हो भने पञ्चायत कालमा जस्तै बिनातलब जनप्रतिनिधिहरूले बैठक भत्तामा सीमित भएर काम गर्नुपर्यो । राष्ट्रपतिदेखि सहायक मन्त्रीको तलब जीवन निर्वाहको सिद्धान्तअनुरूप हुनुपर्योभूतपूर्वहरूमा कुनै पनि किसिमको भत्ता सुविधा नपाउने कानुन बन्नुपर्यो । राष्ट्रपति छान्दा सार्वजनिक क्षेत्रमा प्रख्यात पेसागत दक्षता हासिल गरी स्वदेश विदेशमा नाम कमाएको र कुनै पनि राजनीतिक दलमा नलागेको तटस्थ मान्छे हुनुपर्ने संवैधानिक व्यवस्था गर्नुपर्यो । अन्यथा देशको आर्थिक क्षमताले धान्न सक्दैन ।

राष्ट्रपति बाहिर निस्कँदा गरिने ट्राफिक जामको कारण जनताले भोग्नु परेको समस्या पनि यसपालि राम्रै छरपस्टियो । प्रहरीको चुटाइमा चिकित्सक पर्दा गणतन्त्रले नराम्ररी आफ्नै राष्ट्रपतिलाई गिज्याइरहेको स्पष्टै देखियो । झन् हाँसो उठ्दो कुरा त के छ भने देशलाई धर्म निरपेक्ष भनी एकातर्फ क्रिस्चियन धर्म फैलाउन पूर्ण छुट दिएको छ भने राजाकै शैलीमा दशैंमा, भोटजात्रामा, इन्द्रजात्रामा अनि शिवरात्रिमा हुने गणतान्त्रिक महारानीको मठमन्दिरको भ्रमण र पूजाआजाले गणतान्त्रिक विकृतिलाई पराकाष्ठामा पु¥याएको छ ।

वर्षभरि दिने सांस्कृतिक चाडपर्वरुपी विदाको कारण सरकारी कामकाज सुस्त हुन पुगेको छ । हरेक कर्मचारीलाई आफूले मागेको बेलामा वर्षको १० दिन चाडपर्व विदा दिने गरी सरकारी कार्यालय सदा खुला रहने बनाउन कसले छेकेको छ सरकारलाई ? गणतन्त्र आइसकेपछि प्रजातन्त्र दिवस र संविधान दिवस किन चाहियो ? संविधान लागू भएको दिनलाई गणतन्त्र दिवस माने भएन ? झन् त्यसमाथि जनयुद्ध दिवस थोपरेर के सन्देश दिन खोजेको हो ? देशलाई कता लगिँदैछ ? नमच्चिने पिङको सय झड्का ? 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज