मैले देखेको सतौँ विश्व आश्चर्य: बेजिंङ ल्हासा रेलमार्ग   


चीनको ग्रेटवाल हेरी सकेपछि म वेजींग ल्हासा रेलमार्गको अनुभव गर्न आतुर थिए । सेप्टेम्बर २९, २००६ तारिखको दिन बिहानै उठी सर्वप्रथम बेजिंङबाट ल्हासा फोन गरी लिलामणिजीको आफू बेजिंङ आएर होटलमा बसेको सूचना दिए र तत्पश्चात बेजिंङ स्थित नेपाली राजदूतावास फोन गरे । आफूसँग भएको सबै फोन नंवरहरूमा डायल गर्दा पनि फोन नउठेपछि सायद दशैँको बिदाको कारण राजदूतावास बन्द भएको होला भन्ने सोचे । ब्रेक फास्ट सक्नासाथ होटलकै तल्लो तलामा रहेको पसलमा बेजिंङ शहरको नक्सा किने र होटल लबीमा वसी आफू जान पर्ने ठाउँ रातो डटपेन ले चिनो लगाए । यसप्रकार मेरो स्थल यात्रा बेजिंङबाट शुरु भयो । आफू बसेको होटलबाट हिडेर जाँदा मलाई थिआनयानम्यान चोक पुग्न ४५ मिनेट लाग्यो । बेजिंङको जनसङ्ख्याको १० प्रतिशत याने १५ लाख जनता त्यो चोकमा अटाउने संसारकै चोक मध्येको ठूलो चोक मानिदो रहेछ ।

मिंग वंशका राजाहरूले बनाएको पेगोडा शैलीका दरवार र मन्दिरहरू चोक उत्तरमा अवस्थित थिए । पहिलो दरवार जस्तो दखिने मन्दिरको भित्तामा अध्यक्ष माओको ठूलो तस्विर सजाइएको थियो भने चोकको पूर्वमा ग्रेट हल अफ द पिपल, दक्षिणमा माओ पार्थिव शरिर राखिएको स्मारक, पश्चिममा राष्ट्रिय म्युजियम रहेछन् । सन १९८९ मा जर्मनीमा अध्ययन गर्न बस्दा रेलमार्गबाट मस्को जाने अवसर प्राप्त गरेको थिए र रेडस्क्वायरमा लेनिनको पार्थिव शरीर पनि हेर्न मौका परेको थियो । यसपालको भ्रमणमा अध्यक्ष माओको पार्थिव शरीर देख्ने मौका पाए । बिहान ११ बजेसम्म जो कोहीलाई पनि उक्त स्मारक भित्र निशुल्क प्रवेश गर्न दिइदो रहेछ । अनुशासनबध्द लाम लागेर भित्र जानेहरूको ठूलै संख्या हुँदो रहेछ । स्मारकबाट बाहिर आएपछि मैले एकपटक माओ, लेनिन, तेंग र गोर्भाचोभलाई सम्झे । माओले खडा गरेको राजनैतिक सांस्कृतिक जगमा तेंगले ल्याएको परिवर्तनले गरेको चीनको विकास र त्यस्तै लेनिनले खडा गरेको जगमा गोर्भाचोभले प्रजातन्त्र र स्वतन्त्रताको नाममा गराएको सोभयतसघका पतनलाइ मैले तुलना गर्दा देशको सामाजिक आर्थिक विकास नेतृत्वको भूमिका कस्तो हुदो रहेछ त भन्ने स्पस्ट अनुभव गरे ।

त्यतिखेर बेजिंङ एक विश्व एक सपनाको नाराू लिएर २००८ को ओलम्पिक तयारी युध्दस्तरमा गरिरेहको थियो । विदेशीले नदिंदा कर्मचारीको तलव खुवाउन नसक्ने नेपालको स्थितिलाइ एक पटक सम्झे । त्रिभुवन देखि ज्ञानेन्द्र, मातृका देखि गिरिजा सम्मका सबै राजा र प्रधानमंत्री भनाउदाहरूको अनुहार मेरो मानसपटलमा आयो । मलाई ती पदलोलुप र असक्षम अनुहारहरू संझदा आफैलाई घृणा लागेर आयो । फेरी एक पटक मैले कामरेड भण्डारीलाई संझे, उन्को हत्याराहरूको राष्ट्रघातीकार्यहरू मेरो मानसपटलमा आयो । अनि अत्यमा कामरेड प्रचण्डलाई पनि सम्झे । के माओ, लेनिनको कद हाम्रा नेताले वनाउलान त ? के नेपाललाई आगामी १० वर्षमा यिन्को नेतृत्वले स्वीटजरलैण्ड वनाउन सक्ला त ? भन्ने जस्ता प्रश्नहरू मेरो मगजमा ओइरिए । यस्ता कुरा संझिरहदा विस्तारै धाम मेरो टाउको माथिबाट पश्चिम तर्फ लाग्दै गरेको थाहै भएन । म भने सफा सुग्घर बेजिंग शहर भित्रभित्रै हिडदै आनन्द लिइरहेको थिए । त्यसैबेला मलाइ ल्हाशाको लागि रेलको टिकट किन्नुपर्ने कुराको याद आयो र म नक्सा हेर्दे त्यता तिर हानिए ।

बेजिंङमा पूर्वी र पश्चिमी गरी २० किलो मिटर जतिको दुरीमा दुइबटा ठूला रेलवै स्टेशन रहेछन् । पश्चिमी स्टेशनबाट हरेक रात साढे नौ वजे ल्हाशाको लागि रेल छुटने रहेछ । पुर्वि स्टेशनको काउन्टरमा पुगी टिकट माग्दा टिकट विक्रेता महिलाले हार्ड अथवा सफट कुन चाही टिकट भनी सोधिन । संसारको कुनै पनि स्टेशनमा मलाइ यस्तो प्रश्न राखिएको थिएन । मैले सोझो अर्थमा हार्ड भन्नाले रक्शी खान पाइने मंहगो क्लाश र सफ्ट भन्नाले जुशहरूमात्रै खान पाइने दोश्रो क्लाश भन्ने सोची सफ्ट भने । मं संग १२२६ यूआन (त्यतिखेरको रु ११०००) मागियो र मेलै सफ्ट क्लासको सुत्ने सुविधा समेत भएको सिट वुक गरे । पछि राम्ररी वुझ्दा पो हार्ड भनेको कडा ओछ्यान भएको दोश्रो क्लाश र सफट भनेको नरम ओछ्यान भएको फस्ट क्लाश रहेछ । मैले फस्ट क्लाशको टिकट लिएको रहेछु । हार्ड लिएको भए ८०० यूआन पर्ने रहेछ । मैले कुरा नवुझदा डेढी मूल्य वढी भएको टिकट किन्न पुगेछु । संंपूर्ण  यूरोप यूरेलबाट घुमेको मलाई रु ११००० को ४१ घंटे रेल महंगो भने लागेन र मंहगो टिकट किनेछु भनेर पछुताउ पनि भएन । बिहान ९ वजे बेजिंग शहरको चक्करमा हिडेको म रेलको टिकट किनी सक्दा वेलुकीको ६ वजिसकेको थियो । 

भोलीपल्ट हाम्रो असन न्यूरोड भने जस्तो  वेजिंग शहरको मुख्य भाग डुलेर विताइयो । होटल विहानै छोडेर आफनो सानो सुटकेश होटलको रिसेप्सनलाई जिम्मा दिएर म होटलबाट निस्केको थिए । वेलुकी ५ वजे होटल पुगेर आफनो सुटकेश लिई ६ पनि नवज्दै पुगे म रेलवेस्टेसन पुगिसकेको थिए । वेलुकी आठ वजे रेल छुटयो ।

वेजिंग ल्हासा रेलवे
सन २००६ को जुलाईबाट वेजिंग ल्हासा रेल संचालनमा आएको थियो । यस रेलमार्ग ३ अरव ५० करोड अमेरिकी डलरको लागतमा वनेको थियो । ३७५७ किलोमिटरको दुरी भएको यो रेलमार्ग चीनको आठवटा प्रान्त पारगर्दै तिब्बतको सबैभन्दा उच्च भाग छिंगहाई हुदै ल्हासा आइपुग्छ । सुत्ने सुविधा अनि अत्याधुनिक शौचालय समेत भएको वर्थमा छिर्ने वित्तिकै जुता खोली म ओछ्यान पल्टी हाले । सिरानै माथि अक्सीजनको माक्स पनि देखे । नेपालमा सन १९८४को धौलागिरी पर्वतारोहण अभियानमा राइनहोल्ड मेस्नरको टोलीसंग पर्यटन मंत्रालयको लियाजो अफिसर भएर धौलागिरीको एडभान्स क्याम्प ५५०० मिटरको उचाइसम्म पुगिसकेको कारण मलाई मास्कको सायद आवश्यकता नपर्ला भन्ने सोचे तैपनि कसरी प्रयोग गर्ने रहेछ भनेर अंग्रेजी लेखिएको निर्देशिका पढे । दिनभरी वेजींग शहर घुमेर थाकेको भुसुक्कै निदाएछु ।

विहान सवा ७ वजे आखा खुल्दा नांगो डाडाको मुनी एक सुन्दर शहर भएको ठाउमा रेल रोकिएको रहेछ । कहा आइपुगेछ भनेर नक्सा हेर्दा १२६३ किलोमिटर पार गरी ३००० मिटरको उचाइमा रहेको चोंगवेइ भन्ने शहर रहेछ भन्ने थाहा पाए । रेल केही वेर रोकिन्छ भन्ने थाहा पाएपछि बाहिर निस्केर एक चाइनिजलाई आफ्नो एउटा फोटो खिच्न लगाए । केही वेर पछि रेल फेरि ओरालो लाग्यो अनि क्रमस १५३० मिटरको उचाइमा रहेको लानचाओ, २२०० मिटरको उचाइमा रहेको सिनिंग आइपुग्दा रेलले १७८५ किलोमिटर पार गरी सकेको थियो । त्यतिखेर दोश्रो दिनको दिउसोको ३ वजिसकेको थियो । रेलभित्रै सस्तोमा चिया, चाइनिज खाना सबै पाइदो रहेछ । त्यति मंहगो नलागेकोले खानाको चिन्ता थिएन ।

रेल फेरी विस्तारै उकालो लाग्यो डेलिन्घा पुग्दा रेल २९८० मिटरको उचाइमा थियो बाहिर अध्यारो भइसकेको थियो । तेश्रो दिनको बिहान गोरमु हुंदै रेल नांग्चु तर्फ लाग्दा यांगवाजिगमा रहेका यस रेलमार्गको सबैभन्दा लामो ९६० किलोमिटर लम्वाई भएको टनेल (सुरुंग) पार गर्नु पर्ने रहेछ । नाग्चु पुग्दा ४५०० मिटरको उचाइबाट रेल कुदिरहेको थियो । सेता हिमश्रृंखलाहरु मनमोहक देखिन्थे । रेलमार्गको छेवछाव कतै भेडा अनि कतै चौरीको वथान देखिन्थ्यो । यहि खण्डमा विश्वको सबैभन्दा उच्चस्थल ५०७२ मिटरमा रहेको टांग्गुला पर्वतको भन्ज्यागबाट रेल हुइकिदो रहेछ । सायद यही ठाउको लागि अक्सिजन मास्कको ब्यवस्था गरिएको थियो होला आफुलाई त्यसको आवश्यकतानै परेन । त्यसपछि रेल पुन ओरालो लाग्न थाल्यो  अनि ३६५० को उचाइमा रहेको ल्हासा रेलवे स्टेसनमा आएर रेल रोकियो । मित्र लिलामणीजीले नेपाली कन्सुलेटको ड्राइभर सहित गाडी स्टेसनमानै पठाइ दिनु भएको रहेछ । यसप्रकार म वैतनिक वाणिज्य दुतको निवास पुगी लिलामणीजीको आतिथ्यसंगै बेजिंङ ल्हासा रेल चढने धोको पनि पुराए । 

(यो लेख ढकालको प्रकाशोन्मुख कृति विश्व आश्चार्य, विश्व सम्पदा र विश्व महत्वपूर्ण स्थल र म बाट साभार गरिएको हो ।)-सम्पादक 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज