सन् २००५ सेप्टेम्बरको कुरा हो । म त्यतिखेर रोटरी क्लब डिल्लीबजारको अध्यक्ष भएको ३ महिनामात्रै पुगेको थियो । म भन्दा अगाडिका अध्यक्ष कालीप्रसाद पोखरेलको कार्यकालको अन्तिमतिर हाम्रो क्लबको भगिनी सम्बन्ध रोटरी क्लब सेतागाया टोकियोसँग भएको थियो । त्यतिखेर हाम्रो क्लबमा पाहुनाको रुपमा एक युवक मित्र घनश्याम गौतमजी पनि नियमित आउनु हुन्थ्यो । मेरो कार्यकाल १ जुलाई २००५ बाट सुरु हुनेबित्तिकै हाम्रो क्लबको संयोजनमा रोटरी इन्टरनेसनल र रोटरी क्लब सेतागायाको आर्थिक सहयोगमा ललितपुरका गरिब महिलाहरूका लागि ३ महिने सिलाइबुनाइ तालिम अनि तत्पश्चात् हरेक महिलालाई एक सिलाई मेसिन र व्यवसाय गर्न केही पुँजी दिने गरी प्रशिक्षण कार्यक्रम सुरु भएको थियो । प्रशिक्षण कार्यक्रम अगस्टमा सकिनु, मित्र घनश्यामजी परिवारसहित त्यतिखेरै पिएचडी गर्न ओसाका पुग्नु अनि त्यतिखेर सेतागाया रोटरी क्लब टोकियोको दसौं जन्म दिवस पनि पर्नु र सो जन्मदिवसको प्रमुख अतिथि बनिदिन मलाई निमन्त्रणा आउनु जस्ता संयोगको एकैचोटी परेको कारण थोरै पैसामा जापान पनि घुम्न पाइने, बुलेट ट्रेन पनि चढ्न पाइने देखि म आफ्नो खर्चमा सेप्टेम्बरको एक तारिखमा नै त्यतिखेरको शाही नेपाल वायुसेवा निगमको बोइङ हवाईजहाजबाट ओसाका पुगी घनश्यामजी कहाँ गई डेरा जमाउन पुगे । खान बस्न मित्रका डेरामा निशुल्क पाएपछि के चाहियो ४ दिन मज्जाले ओशाका घुमियो । त्यसैबीच नेपालको गान्धी आश्रम गोठाटारमा सामुदायिक हल बनाइदिने ओसाकाका ५ वटा रोटरी क्लब हेर्ने असिस्टेन्ट गभर्नरसँग भेटघाट अनि दिवा भोज पनि भए । तत्पश्चात् ओशाका बाट टोकियो हानिने क्रममा मैले संसारकै सबैभन्दा छिटो दगुर्ने बुलेट ट्रेन चढ्ने अवसर पाएँ ।
बुलेट ट्रेन
बुलेट ट्रेन जसलाई जापानी भाषामा सिनकान्सेन पनि भनिन्छ यसको कुल लम्बाइ जापानभर गरी जम्मा २७६४ किलोमिटर रहेको छ । अधिकतम प्रतिघन्टा ३२० किलोमिटरसम्म दगुर्न सक्ने यस रेलको निर्माण सन् १९५९ बाट सुरु भई सन् १९६४ देखि सञ्चालनमा आएको हो । यस खण्डको कुल लागत २०० अरब जापानी येन लाग्ने भनिए तापनि निर्माण कार्य सम्पन्न हुँदा यसको कुल लागत दुई गुणा बढेर ४०० अरब जापानी येन पुगेको थियो । जापानका सबै मुख्य सहरहरुलाई जोड्ने योजना राखेको यस रेलवे सन् २०३१ मार्च महिनामा गएर सकिने बताइएको छ । त्यसपछि बुलेट ट्रेनले जापानको होन्सु, क्युसु र होक्काइडो टापुहरुलाई पनि जोड्ने छ ।
यस रेलवे प्रणालीको सुरुको खण्ड भनेको ओसाका टोकियो खण्ड नै हो जुन यस पंक्तिका लेखकले अनुभव गर्ने मौका पाएको थियो । यो खण्ड सबैभन्दा ब्यस्त खण्ड हो जसमा वार्षिक १५ करोड १० लाख यात्रु आवतजावत गर्दछन् । यसले हालसम्म कुल गरी ५ अरब यात्रु ओसारपसार गर्ने कार्य गरिसकेको छ । यो संसारकै रेलवे प्रणालीले बनाएको सबैभन्दा ठूलो रेकर्ड हो । यस खण्डको कुल क्षमता भनेको १३२३ सिट हो । सन् २००७ सम्म यो रेलवे प्रणाली नै विश्वको सबैभन्दा द्रुतगतिको रेलवे प्रणाली थियो । यस्तो रेलवे प्रणालीको विकास गर्ने जापान नै पहिलो राष्ट्र हो जसले पर्वतीय धरातलमा पनि यस्तो रेलवे प्रणाली विकास गर्न सकिन्छ भनेर प्रमाणित गरेर देखाएको हुँदा यसलाई मानव सभ्यताको विकासको अनुपम उदाहरण मानिएको छ । यस रेलवेको अवधारणा विकास गर्ने मुख्य व्यक्तिहरुमा चिफ इन्जिनियर हिदियो सिमा र जापान नेसनल रेलवेका अध्यक्ष सिन्जी सोगो थिए । पुरानो रेलवे प्रणालीबाट टोकियो ओसाका भ्रमण गर्दा ६ घण्टा ४० मिनेट लाग्दथ्यो भने यस बुलेट ट्रेन सञ्चालनमा आएपश्चात् चारै घण्टामा ओसाकाबाट टोकियो पुग्न सकिने भएको थियो । यस रेलवेको विकासले गर्दा जापानको दुई सहर टोकियो र ओशाका बीच उद्योग र व्यवसायमा ठूलै वृद्धि भएको थियो ।
टोकियो ओसाका खण्डको अपार सफलताको कारण यस रेलवे प्रणालीलाई लम्ब्याउने कार्य गरियो । जसअनुरुप सन् १९७५ मानै यस रेलवे पश्चिम जापानका ओकायामा, हिरोसिमा र फुकुओकासम्म पुग्यो । सन् १९८४ मा यस रेलवे प्रणालीको निजीकरण भएपछि यस रेलवे प्रणालीलाई झनै स्तरीकरण गरियो । जसअनुसार सन् २०१४ देखि माग्लेभलाइन जडान गरिएपछि यसको दगुर्ने गति बढेर प्रतिघण्टा ६०३ किलोमिटर पुगेको छ । १५०० भोल्टको डाइरेक्ट करेन्टले चल्ने यस रेलवेको एक्सलमा विद्युत जडान गरिएको हुन्छ । जापानको सहरहरुमा हुने ठूलो ट्राफिकजामको कारण यस रेलवे सबैक लागि सरल यातायातको साधन भएको छ । झन् सुरक्षाको दृष्टिकोणले भन्नु पर्दा दुर्घटनाको सम्भावना झण्डै शून्य नै छ । जापानजस्तो अति भूकम्प जोखिम धरातलमा पनि प्राकृतिक प्रकोपको कारण रेलवे दुर्घटना भएको हालसम्म कुनै रेकर्ड नै छैन । सन् २००४ अक्टोवर महिनामा आएको विनाशकारी भूकम्पले यस रेलवेको १० वटा डिब्बा ढलाए तापनि कुनै यात्रुको पनि हताहति भएको थिएन । अकोतर्पm विद्युतले चल्ने भएको हुँदा यो निकै वातावरणमैत्री छ । यस रेलवेको खराब पक्ष भनेको चाहिँ यसले उत्सर्जन गर्ने ध्वनि प्रदूषण नै हो जसको कारण यदाकदा यसको विरोध हुने गर्दछ भने हिमपात भएको बेलामा यो रेलवे पूर्ण गतिमा दौडन सक्तैन ।
(यो लेख ढकालको प्रकाशोन्मुख कृति विश्व आश्चार्य, विश्व सम्पदा र विश्व महत्वपूर्ण स्थल र म बाट साभार गरिएको हो ।)-सम्पादक