तत्कालीन ब्रिटिश इस्ट इन्डिया कम्पनीले करकाप र त्रासमा पारेर देशको नक्सा नै बदल्ने गरी नेपाललाई सुगौली सन्धिमा हस्ताक्षर गराएको मार्च ४ मा २०७ वर्ष पूरा भएको छ । त्यही सन्धिले ग्रेटर नेपालको टिस्टा—काँगडासहितको मानचित्र मेची—महाकालीमा सीमित गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको अदूरदर्शिता र कमजोर कूटनीतिले आधुनिक हतियार बन्दुक तोप गोलावारुदले सुसज्जित अंग्रेजका लाखौं संख्याका सेनासँग खुँडा, तरबार, खुकुरी, घुँयत्रो, गुलेली र केही थान भरुवा बन्दुक बोकेका संख्यात्मक रुपले थोरै नेपाली सेनाले युद्ध जित्ने असम्भवप्रायः थियो । कूटनीतिक वार्ताद्वारा अंग्रेज आक्रमकलाई रोक्ने प्रयास भीमसेन थापाले गरेनन् । सयौं देशभक्त भारदारहरुको हत्या गरेर सत्तामा उदाएका भीमसेन थापाले अंग्रेजहरुलाई भारतबाट लखेट्न दिल्लीका मुगल बादशाह, पञ्जावका रणजित सिंह र महाराष्ट्रका सिन्धियाहरुलाई जब पत्र पठाए, त्यसको भेद खुलेपछि अंग्रेजहरु आक्रामक बनेका थिए । रणजंग पाण्डेले त एसियाबाटै अंग्रेजहरुलाई लघार्ने गरी कूटनीतिक सक्रियता बढाएको विषयले अंग्रेजहरुलाई नेपाल चढाइ गर्न प्रेरित गरेकै थियो । भीमसेन थापाले अंग्रेजको सैन्य शक्तिलाई नजरअन्दाज गर्न नसक्नु नै नेपालले पराजयको सामना गर्नुपरेको थियो । कूटनीतिक सक्रियता बढाएर युद्धलाई रोक्नेतर्फ भीमसेनले कत्ति पनि ध्यान दिएनन् । भीमसेनको धृष्टताले सयौं देशभक्त युद्धवीरहरु अंग्रेजसँगको युद्धमा मारिए भने नेपालले २५१३९४ वर्गकिलोमिटर क्षेत्रफल गुमाउनुप¥यो ।
सुगौली सन्धिअघि नेपाली भूमि पूर्वमा टिस्टा र पश्चिममा काँगडा, दक्षिणमा गंगा नदीसम्म फैलिएको थियो । सन् १८१४ सम्म नेपालको भूमि ३६,७५,७५ वर्गकिलोमिटर रहेको थियो । सन् १८१४ देखि १८१६ सम्म इस्ट इन्डिया कम्पनीले पाँच युद्ध मोर्चा बनाई युद्ध छेडेको थियो । नेपालले पश्चिम क्षेत्रका दुईवटा मोर्चामा युद्ध छायो । पूर्वतर्फ त खास युद्ध नै भएन । तीनवटा मोर्चामा अंग्रेजहरुलाई नेपालले हराइसकेको थियो । यस्तो अवस्थामा ब्रिटिश इस्ट इन्डिया कम्पनीले नेपालको राजदरबार, भारदारहरुमा चलखेल गरी काठमाडौं उपत्यका नै कब्जा गर्न लागेको हल्ला पिटायो । तथ्यको कसिमा भीमसेन थापा खरो उत्रन सकेनन् । अंग्रेजहरुको डर त्रास, करकाप र दबाबमा उनले नेपालका तर्फबाट गजराज मिश्र र चन्द्रशेखर पाध्यालाई सन्धिमा हस्ताक्षर गर्न सुगौली पठाए । राजाको हस्ताक्षर बिनाको सन्धि आफैंमा वैध थिएन । राष्ट्रघाती सुगौली सन्धिमा हस्ताक्षर गरेको भन्दै राजदरबारले मिश्र र पाध्यलाई देश निकाला गर्ने आदेश दियो । यी दुई हस्ताक्षरकर्तालाई अंग्रेजहरुले बनारसमा जग्गा र पैसा दिई सम्मानका साथ शरण दिनुले नै प्रस्ट पार्छ सुगौली सन्धि भयंकर षड्यन्त्रको जाली कागज थियो ।
सुगौली सन्धि अघिसम्म काँगडादेखि टिस्टासम्मको नेपाली भूमि ३ लाख ६७ हजार ५७५ वर्गकिलोमिटर रहेको इतिहासकारहरुले बताएका छन् । यो गंगा नदीको उत्तरी मैदानको केही भूभाग बाहेकको क्षेत्रफल हो । दक्षिण गंगा नदीसम्मको क्षेत्रफल करिब २५ हजार वर्गकिलोमिटर रहेको हुँदा नेपालको कुल क्षेत्रफल ३ लाख ९२ हजार ५ सय ७५ वर्गकिलोमिटर रहेको इतिहासले बताउँछ । पूर्वको लडाइँमा नेपालले जिते पनि टिस्टासम्मको भूभाग अंग्रेजलाई दिने गरी सन्धि गरेर मिश्र र पाध्यले अक्षम्य राष्ट्रघात गरेका थिए । राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल विस्तारको युद्ध उनीपछि उनका कान्छा छोरा बहादुर शाह र बुहारी राजेन्द्र लक्ष्मीले अघि बढाएका थिए । दरबारभित्रको षड्यन्त्रले बहादुर शाहको हत्या भएपछि राज्य विस्तारको लडाइँ रोकिएको थियो ।
इतिहासमा नेपालको सिमाना पूर्वमा भूटानको दामसाङ गढीसम्म र पश्चिममा रावी नदीसम्म उत्तरमा कैलाश मानसरोवरसम्म र दक्षिणमा गंगा नदीसम्म भएको उल्लेख छ र यो ऐतिहासिक सत्यतथ्य पनि हो । तर अहिले यो सरहदभित्रको सम्पूर्ण भूभागमाथि नेपालको नियन्त्रण छैन । सन् १८१४—१५ मा भएको इस्ट इन्डिया कम्पनी र नेपालबीचको लडाइँमा बगेको रगतले सुगौली सन्धि लतपतिएको छ । ग्रेटर नेपाललाई बुझ्ने आधार सुगौली सन्धि नै हो । अल्मोडाको युद्धमा बम शाहले अंग्रेजसामु आत्मसमर्पण गरेपछि अंग्रेज पक्षमा डेभिड अक्टरलोनी र अमरसिंह थापाबीचको वार्तापछि एक समझदारी पत्रमा हस्ताक्षर गर्ने गरी युद्ध रोकियो । सुगौली सन्धिले नेपालको पूर्वतर्फको मात्र सिमाना स्पष्ट गरेको छ । दक्षिण सिमानाबारे सन्धिमा टिस्टादेखि महाकालीबीचको तराई सम्पूर्ण भूभाग भन्ने उल्लेख मात्र पाइन्छ । तर तराईमा नेपाल कहाँसम्म हो भन्नेबारे कुनै किटानी गरिएको छैन । उक्त सन्धिमा पश्चिम सिमानाबारे जे कुरा उल्लेख छ, त्यसले स्पष्टता होइन, झन अन्यौल पैदा गर्छ ।
सुगौली सन्धिको पाँचौं धारामा नेपालको महाकाली पश्चिमका सबै भूभागमाथिको अधिकार परित्याग गर्नुपर्ने भनी उल्लेख गरे पनि महाकाली पश्चिम कहाँसम्मका भूभाग भन्ने विषयमा केही पनि स्पष्टता गरिएको छैन । आजको भारतको उत्तराखण्ड राज्य सुगौली सन्धिअघि नेपालकै भूभाग थियो । अक्टरलोनी र अमरसिंह थापाबीचको समझदारी पत्रमा महाकाली नदीदेखि सतलज नदीबीचका विभिन्न भूभागको उल्लेख पाइन्छ, जसमा युद्धपूर्व नेपालको सार्वभौम सत्ता स्थापित थियो । यही समझदारी पत्रले नै युद्धपूर्व नेपालको पश्चिम सिमाना सतलजसम्म थियो भन्ने पुष्टि गर्छ । त्यस्तै ब्रिटेनले बनाएका सै मानचित्रमा लडाइँपूर्वको नेपाललाई गोर्खा साम्राज्यको रुपमा चिनाइएको छ । ती नक्साहरु नेपालको इतिहासका साक्षी हुन्, जसले नेपालको सिमाना त्यसबेला टिस्टा सतलज कायम भएको थियो भन्ने प्रमाणित गर्छन् ।
करिब ४५ हजारको सैन्यबल र त्रियासी तोपका साथ युद्धभूमिमा उत्रिएको अंग्रेज पक्षको तुलनामा त्यसको आधा पनि सैन्य संख्या नभएको नेपाल अंग्रेजसँग वीरतापूर्वक लडे पनि पर्याप्त सैन्य सामग्री आवश्यक फौजका अभावमा अन्त्यसम्म डटिरहन सकेन । नालापानीको लडाइँमा जित्न नसकेपछि अंग्रेज पक्षले पानीको मुहान थुनिदिए भोकै प्यासै नेपाली वीर विरांगनालाई मार्ने अमानवीय रणनीति लिएकाले बलभद्रले किल्ला नै छाडिदिए । लड्दालड्दै हस्तिदल शाही मारिए । मलाउको किल्लाको रक्षार्थ डटेर बसेका ७० वर्षीय भक्ति थापा पनि देउथलको युद्धमा छातीमा तोपको गोला लागेर दिवंगत भए । अल्मोडाको युद्ध मोर्चामा बम शाह पराजित भएपछि नेपाल पश्चिम क्षेत्रमा रक्षात्मक बन्न पुग्यो र अंग्रेजसँग १८१५ मे १५ मा समझदारी पत्रमा हस्ताक्षर ग¥यो ।
११ डिसेम्बर १८१६ मा इस्ट इन्डियाले नेपाललाई कोसीदेखि राप्तिसम्मको केही भूभाग फिर्ता दियो ।
सन् १८५७ मा अंग्रेज विरुद्धको सिपाही विद्रोह दबाएर जंगबहादुर राणाले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता ल्याए । उनले अंग्रेजले युद्धद्वारा कब्जामा लिएको अन्य नेपाली भूभाग फिर्ता भने मागेनन् । ब्रिटिस इस्ट इन्डिया कम्पनीले सन् १९४७ मा भारत छोड्यो । भारत ब्रिटिस उपनिवेशबाट मुक्त भयो । तर त्यसबेलाका शासक पद्म शमशेरले २७ वर्ष नेपालको प्रशासन चलेको दार्जिलिङ समेत लिन मानेनन् । अंग्रेजले हडपेको नेपालको भूभागको त कुरै छोडौं । न त त्यसबेलाका कांग्रेस नेताहरु बीपी, सुवर्ण, मातृका, गणेशमान, कृष्णप्रसादहरुले नै नेपाली भूमिबारे कुरा उठाए । सन् १९५० मा भारतसँग शान्ति तथा मैत्री सन्धि गरेर तत्कालीन शासक मोहन शमशेरले नेपाललाई भारतको अर्धउपनिवेश बनाइदिए । उक्त सन्धिले यसअघिका सबै सन्धि सम्झौता खारेज गरेको छ । त्यसअनुसार नेपालले अंग्रेजले हडपेको जमिन फिर्ता पाउनुपर्ने हो । तर भारतले फिर्ता नगर्ने मात्र होइन, सुस्ता र कालापानी क्षेत्रसमेत हडपिसकेको छ । भारतले गोवा फिर्ता लियो, चीनले हङकङ, कोलुङ, मकाउ, ब्रिटेनले फोक्ल्यान्ड तर नेपालले आफ्नै भूभाग अझै फिर्ता पाएको छैन । यदि नेपाल भारतभन्दा शक्तिशाली हुन्थ्यो भने ग्रेटर नेपाल धेरै पहिले कायम भइसक्थ्यो ।