मैले देखेको दशौँ विश्व आश्चर्यः इजिप्टको पिरामिड

प्राचीनकालमा पनि मानव निर्मित विश्वका आठ आश्चर्यहरू थिए । त्यसैगरी मध्यकालमा पनि मानव निर्मित विश्वका आठ आश्चर्यहरू बने अनि त्यसैगरी आधुनिक कालमा पनि त्यस्तै आश्चर्यहरू सिर्जना हँुदै गए । ती आचार्यसँगको मेरो साक्षात्कार हुने क्रम पनि क्रमशः बढ्दै गइरहेको थियो । म चाहिँ अब इजिप्टको पिरामिड र स्वेज नहरसँग कहिले साक्षात्कार हुने अवसर पर्ला भन्ने मौका ढुकेर बसिरहेको थिएँ । त्यतिखेरै रोटरियन मित्र प्रेम ओलीले कान्तिपुर ट्राभलले रु ८१ हजारको  प्याकेजमा ५ दिन इजिप्ट घुमाउने कार्यक्रम ल्याएको थाहा भएपछि दौडिहाल्थे म आफ्नो सिट सुरक्षित गर्न । यसरी तय भयो मार्च १९ तारिखदेखि २५ तारिखसम्म प्राचीन मिश्र अथवा आधुनिक इजिप्टको भ्रमण ।

बच्चादेखि नै विश्व आश्चर्यमध्येको एक  पिरामिडको कुरा सुनेर यो जीवनमा ती कुराहरू देख्न पाइएला र भन्ने लाग्थ्यो । जब हेर्न पाइयो आफूलाई धन्य ठानियो । 

पिरामिड
नौ वटा पिरामिडहरुसँगै भएको राजधानी कायरोको  गिजा क्षेत्रमा तीनवटा चाहिँ भीमकाय पिरामिड रहेका छन् । अरु तीनवटा साना र बाँकी तीनवटाको भग्नावशेषको रुपमा जगमात्रै देखिन्छ । ठूला तीनवटा पिरामिडहरुमध्ये मिश्रको फराव हेमन (राजा) खुफुको चिहानको रुपमा २० वर्ष दिनरात लगाएर निर्माण गरिएको पिरामिड जसलाई त्यहाँको भाषामा केओप्स भनिन्छ त्यो नै सबैभन्दा ठूलो पिरामिड रहेछ । इशापूर्व २५८० देखि २५६० मा निर्माण गरिएको यस पिरामिड प्राचीनकालको सात आश्चर्यमध्ये एक रहेको र यो पिरामिड सुरुमा १४६.५ मिटर अग्लो भए तापनि धसिँदै गएको कारण हाल यसको उचाइ १३८.८ मिटर रहेको बताइयो ।

८८ हजार क्युविक फिट भएको यस पिरामिडको  तौल ५९ लाख टन भएको अनुमान गरिएको छ । निर्माण ताका ८०० टन चुनढुंगा प्रतिदिन प्रयोग गरिन्थ्यो रे । विभिन्न साइजका गरी यस पिरामिडमा २३ लाख चुन ढुंगा प्रयोग भएका छन् । निर्माण गरिएको ३८ सय वर्षसम्म यो पिरामिड मान्छेले बनाएको संसारको सबैभन्दा अग्लो संरचना रहेको थियो । यसमा प्रयोग गरिएको चुन ढुंगा सानोमा २५ टनदेखि ठूलोमा ८० टनसम्मको रहेको छ । यी चुन ढुङ्गाहरू आठसय किलोमिटर टाढा अश्वन भन्ने ठाउँबाट ल्याइएको थियो । यी ढुंगालाई नाइल नदी तार्न डुंगाहरुको प्रयोग गरिएको थियो ।  यी चुन ढुंगालाई जोडने वज्रमात्रै ५ लाख टन पुगेको थियो । यो पिरामिड बनाउन दासहरूलाई प्रयोग गरिएको थियो भनेर ग्रिकहरु भन्ने गर्दछन् । जम्मा एकलाख बीस हजार दास कामदारहरुमध्ये दश हजार चाहिँ सिपालु कामदार थिए । यिनीहरुलाई २०/२० हजारको समूहमा राखी काम गराइन्थ्यो ।

पिरामिडको मुख्य द्वार सतहबाट १७ मिटर अग्लो छ । प्रवेशद्वारबाट एक मिटर तल झरी ८ मिटरको प्यासेज पार गर्नासाथ फराव खुफु (राजा) को चिहान राखिएको स्थल भेटिन्छ ।   खाली चौडा कोठामा राजाको १० दशमलव ४७ मिटर उचाइको फुटेको अवस्थामा रहेको चिहानबाहेक केही पनि नभएको हुँदा पर्यटकहरु २० अमेरिकी डलर तिरेर भित्र जाँदा रहेनछन् र हामी पनि मुख्य द्वारसम्म पुगेर फक्र्यौं । त्यही २० डलरले पिरामिड क्षेत्रमा घुम्न चाहनेले टांगा, घोडा, र उँट चढ्दा रहेछन् । म र मेरा मित्रहरु चाहिँ ऊँट चढ्यौँ । एक घन्टाको ऊँट चढाइमा तीनवटै पिरामिडलाई विभिन्न कोणहरुबाट हेर्न सकिने रहेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज